आयोजक र धरान भेट्रान फुटबलको सेमिफाइनलमा प्रवेश

विराटनगर । विराटनगरमा जारी ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगितामा सुनसरीको धरान भेट्रान क्बल र आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा सिरहाको लहान भेट्रान क्बललाई टाइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै धरान सेमिफाइनलमा पुगेको हो ।

खेलको निर्धारित समयमा दुवै टोली १–१ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा गएको हो । धरानका सुजितकुमार राई, सतिश केसी, सन्तोष लिम्बू, विवश राना मगर र राजकुमार राईले गोल गर्दै टोलीलाई विजयी बनाउनुभयो ।

यस्तै लहानका सजकुमार आले, श्यामसुन्दर सिंह र सन्तोषकुमार चौधरीले गोल गर्नुभयो भने मुरलीकान्त चौधरी गोल गर्न चुक्नुभयो ।

खेलको ९ औं मिनेटमा धरानका सुजितकुमार राईले गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभएको थियो । लहानका लागि ३१ औं मिनेटमा सुरेशकुमार चौधरीले गोल गर्दै खेल बराबरीमा फर्काउनुभएको थियो । खेलको म्यान अफ द म्याच धरानका सुजितकुमार राई घोषित हुनुभयो ।

दोस्रो खेलमा भने पाहुना टोली इटहरीको जनता भेट्रान क्लबलाई १–० गोल अन्तरमा हराउँदै आयोजक सेमिफाइनलमा पुगेको छ ।

खेलको एक मात्र निर्णायक गोल ४२ औं मिनेटमा डेनिम राईले गर्नुभयो । उहाँ खेलको म्यान अफ द म्याच हुनुभयो । सिएमजी स्वास्थ्य क्लब, विराट बुद्ध र पेमा युवा क्बलले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत भोलीको खेल झापा दमकको दमक–लखनपुर भेट्रान क्बल र विराटनगर हाटखोलाको मर्निङ भेट्रान क्बलबीच हुनेछ ।

Back to top button