लागुऔषध सेवन गरी सवारी चलाउने एक चालक पक्राउ

विराटनगर । लागुऔषध सेवन गरी सार्वजनिक सवारी साधन चलाउने एकजना चालक पक्राउ परेका छन् ।

विराटनगरबाट को १ ज १४८१ नम्बरको म्याजिक भ्यानमा यात्रु लिएर सुनसरीको इनरुवातिर जाने तयारी गर्दैगर्दा इटहरी उपमहानगरपालिका–१३ घर हुने ३८ वर्षीय प्रदीप श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले श्रेष्ठलाई विराटनगर महानगरपालिका–११ स्थित बसपार्कबाट आज बिहान १० बजेतिर पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ‘टेष्ट किट’को प्रयोग गरेर परीक्षण गर्दा श्रेष्ठले लागुऔषध डाइलेक्स डीसी र गाँजा सेवन गरेको पुष्टि भएको छ ।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले श्रेष्ठलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले पक्राउ परेका चालकविरुद्ध लागुऔषध सेवन सम्बन्धी मुद्दा चलाइने जानकारी दिनुभयो ।

Back to top button