चाडपर्व भनेर फुटपाथ व्यापारप्रति लचिलो हुन सकिँदैन : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडपर्वका बेला फुटपाथमा व्यापार गर्ने व्यवसायीका लागि लचिलो हुन नसक्ने बताउनुभएको छ । महानगरपालिकाका मेयर बालेन शाहले आज आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै यस्तो बताउनुभएको हो ।

उहाँले लेख्नुभएको छ, ‘सडक व्यापारले पैदल मार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय हो ।

त्यसैले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्नेछ, यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौँ ।’

पैदल यात्रीका लागि पर्वका समयमा फुटपाथ अझ बढी आवश्यक पर्ने भन्दै मेयर शाहले अन्य समयभन्दा यो बेला जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरु किनमेलका घर वाहिर निस्कने बताउनुभएको छ । ‘उहाँहरुको पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी हो’ उहाँले भन्नुभएको छ ।

यस्तै, सहरी सरसफाइलाई पूर्ण सरसफाइसम्म पुर्‍याउने, सहरी सुन्दरता कायम गराउने जस्ता विषयलाई नीतिगत व्यवस्था गरेर कार्यान्वयनका कार्यक्रम सञ्चालन गरिरहेको मेयर शाहले बताउनुभएको छ ।

Back to top button