डेंगुको विषयमा सरकार गम्भीर भएन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले डेंगुको विषयमा सरकार गम्भीर नभएको बताउनुभएको छ ।

काठमाडौं क्षेत्र नम्बर ४ मा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले सरकारले डेंगु रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाउनुभएको हो ।

डेंगु रोकथामलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै आपतकालीन बैठक बोलाएर योजना बनाउनुपर्ने उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो,‘डेंगुको विषयमा सरकार गम्भीर भएन । चाडबाडको बेलामा संक्रमण रोक्न केही भूमिका खेल्न सकेन । अब तुरून्त स्थानीय सरकार, प्रदेश र संघीय सरकारसहितको आपतकालिन बैठक बोलाउनुपर्यो ।’

कोभिड नियन्त्रण गर्न नसकेको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारलाई दोष लगाएको तर आफ्नै सरकार हुँदा डेंगु नियन्त्रण गर्न नसकेको भन्दै उहाँले आपत्ती जनाउनुभयो।

महामन्त्री थापाले भन्नुभयो,‘सरकारले डेंगु नियन्त्रणमा काम गर्न सकेन। हिजो कोभिडको बेलामा ओली सरकारले काम गरेन भन्यौं। आज हाम्रै पार्टीको सरकार छ तर पनि काम गर्न सकेको छैन।’

Back to top button