राजेन्द्र महतोले धनुषा–३ छाडी सर्लाही–२ बाट चुनाव लड्ने

जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले धनुषा क्षेत्र नम्बर–३ बाट उम्मेदवार बन्ने दावी छाड्नुभएको छ ।

२०७४ मा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महतो ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–२ बाट लड्ने निष्कर्षमा पुग्नुभएको छ ।

२०७४ सालमा मधेसी मोर्चाको उम्मेदवार रहनुभएका महतोले एमालेको पनि अघोषित साथ पाउनुभएको थियो । त्यसको बलमा उहाँले नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिलाई पराजित गर्नुभएको थियो। यस पटक निधि समानुपातिक पद्धतितर्फ उम्मेदवार बन्नुहुने छ ।

तर महतोले पनि धनुषा–३ बाट चुनाव नलड्ने हुनुभएको छ । यसपटक मधेश आन्दोलनको प्रभाव छैन । स्थानीय निर्वाचनको नजिताले पनि महतोलाई यो क्षेत्रमा सहज देखिएको छैन ।

एमालेले पनि जुलीकुमारी महतोलाई अघि सार्ने भएपछि महतो यस क्षेत्रबाट चुनाव नलड्ने निर्णयमा पुग्नुभएको हो । जुली धनुषा क्षेत्र नं. ३ बाट लड्ने तयारी गरिरहेकाले आफू सर्लाही–२ रोजेको नेता महतोले बताउनुभयो ।

‘लोसपा र एमालेबीच गठबन्धन भइरहेको छ । त्यहाँबाट जुलीजी तयारी गर्दै हुनुहुन्छ,’ लोसपा नेता महतोले भन्नुभयो । उहाँ पछिल्लो समय पटक–पटक सर्लाही–२ मा पुग्नुभएको थियो।

Back to top button