मोरङमा धामी बस्न हिँडेका एक युवक मृत फेला

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा धामी बस्न हिँडेका एक युवक मृत फला परेका छन् । वडा नम्बर–४ बटरबारीका ३२ वर्षीय अशोककुमार यादवको शव मृत अवस्थामा फेला परेको हो ।

हिजो साँझ यादव घरबाट धामी बस्नका लागि लरीकट्टा भन्ने ठाउँमा जान्छु भन्दै हिँडेको र आज विहान घरबाट करिब डेढ किलोमिटर टाढा सडकमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको पेटमा ठूलो चोट छ । स्थानीयले भने पेटमा छुरा प्रहार गरी हत्या भएको दाबी गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले घटना शंकास्पद भएकाले तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरेर अनुसन्धान अघि बढाएको बताउनुभयो ।

‘मृतकको पेटमा गहिरो चोट छ,’ उहाँले भन्नुभयो, ‘घटना शंकास्पद छ, तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरेका छौं ।’

डीएसपी श्रेष्ठका अनुसार हिजो यादव प्रदेश १–०२–०४४ प.३२६१ नम्बरको मोटरसाइकलमा घरबाट निस्किनुभएको थियो । आज बिहान घरबाट पूर्वतर्फको भित्री सडक खण्डमा राखिएको अवस्थामा मोटरसाइकल भेटिएको थियो ।

मोटरसाइकल भएको स्थानबाट करिब १० मिटर दक्षिण सडकमा उहाँको शव फेला परेको थियो । धारिलो हतियार प्रहारबाट पेटमा गम्भीर चोट लागेको र शरीरका अन्य भागमा पनि अलिअलि चोट पटक देखिन्छ ।

घटना शंकास्पद देखिएकाले सूक्ष्म रुपमा अनुसन्धान अघि बढाइएको डीएसपी श्रेष्ठले बताउनुभयो । मृतकको शव पोष्टमार्टमका लागि कोसी अस्पताल पठाइएको छ ।

Back to top button