एमालेले जिते देश समृद्धिको बाटोमा जान्छ : उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा बाँडिएको बताउनुभएको छ ।

आज दसैंका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले राजनीतिको एउटा ध्रुव एमाले र अर्को ध्रुव गठबन्धनले नेतृत्व गरेको बताउनुभयो।

देश बनाउने सपनाको नेतृत्व ध्रुव एमालेले गरेको उहाँको दाबी छ । उहाँले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जनताले मतदान गरेर राम्रो पार्टी र नेताहरुलाई जिताउन आग्रह गर्नुभयो ।

यस्तै उहाँले गठबन्धन सरकारको कुनै गन्तव्य र उद्देश्य नरहेको बताउनुभयो। उहाँले गठबन्धन सरकारको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको भन्दै आगामी निर्वाचनबाट जनताले यसको फैसला गर्ने बताउनुभयो ।

उहाँले आगामी निर्वाचनबाट एमालेले जित निकाले मात्रै देशलाई समृद्धिको बाटोमा लैजान सकिने उल्लेख गर्नुभयो।

वरिष्ठ उपाध्यक्ष पोखरेलले देशको न्यायालय, कार्यापालिका, देशका अन्य अंगहरु चल्नै नसक्ने अवस्थामा रहेको बताउनुभयो । उहाँले कुनै पनि नेता र पार्टीका बारेमा सोलोडोलो निष्कर्षमा नपुग्न पनि नेता–कार्यकर्तालाई सुझाव दिनुभयो।

Back to top button