प्राकृतिक सम्पदाको दोहन हुँदा समेत राज्य संयन्त्र मौन छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं। पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्राकृतिक सम्पदाहरुको दोहन हुँदासमेत राज्य संयन्त्र मौन रहेको बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित १५३ औं गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रकृति दोहनका कारण हिमालको हिउँ आवश्यक भन्दा धेरै पग्लिरहेको र यसले विभिन्न समस्या सिर्जना गरिरहेको बताउनुभयो ।

पूर्व राष्ट्रपति यादवले नदीनाला दोहन, तराईका जंगलको विनाश, चुरे क्षेत्रको दोहन र चुन ढुंगा निकाल्ने बहानामा भइरहेको पहाडको दोहनका कारण प्राकृतिक विपद्हरु दिनप्रतिदित बढीरहेको बताउनुभयो ।

उहाँले नेपालमा मात्रै नभइ विश्वमा नै क्लाइमेट इमर्जेन्सी, ग्लोवल वार्निङको समस्या रहेको बताउनुभयो । उहाँले वैज्ञानिकहरुले प्राकृतिक श्रोत सम्पदाहरुको दोहन गर्दा आउनसक्ने परिणामको चेतावनी दिँदासमेत विश्वका नेतृत्वकर्ताहरुले जलवायु परिवर्तनको विषयमा कुनै चासो नदिएको बताउनुभयो ।

पूर्व राष्ट्रपति यादवले प्राकृतिक दोहन गर्दा हाल जलवायु परिवर्तनको असर, खाद्यान्न अभाव, इन्धनको अभाव जस्ता समस्या बढीरहेको उल्लेख गर्दै यस्ता समस्याहरु समाधानका लागि विशेष योजना बनाएर अघि बढ्नुको विकल्प नरहेको जिकिर गर्नुभयो ।

उहाँले प्रकृतिको संरक्षण नगरे मानव सभ्यता नै धरापमा पर्ने अवस्था आइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले जलवायु परिवर्तनको असर, खाद्यान्न अभाव, इन्धनको अभाव जस्ता समस्या बढीरहेका छन् । २१ औं शताब्दीमा रुस र युक्रेनको युद्धले लाखौं मानिसहरु मरिरहेका छन् ।’

पूर्व राष्ट्रपति यादवले प्राकृतिक सम्पदाहरुको विनाशका कारण कोरोनालगायतका विभिन्न रोगहरु आइरहेको भन्दै प्रकृतिको संरक्षण गर्न सबै जुट्नुको विकल्प नरहेको बताउनुभयो ।

उहाँले महात्मा गान्धीको जीवनी आफैँमा एउटा पुस्तक रहेकोले सबैले गान्धीको जीवनबाट पाठ सिक्न आवश्यक भएको बताउनुभयो ।

Back to top button