चीनले सीमाका १४ गा.पा.लाई दियो एक्साभेटर

गोरखा । चीन सरकारले नेपालका सीमानामा पर्ने १४ जिल्लाका १४ गाउँपालिकालाई एक्साभेटर उपाहार दिएको छ। तिब्बत स्थित महावाणिज्यदूतको कार्यालयले सीमानामा रहेका पालिकालाई एक्साभेटर हस्तान्तरण गरेको हो।

पूर्वाधार निर्माणमा सहयोग गर्ने उद्देश्यले चीन सरकारले एक्साभेटर उपलब्ध गराएको गोरखाका चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिनुभयो। चीन सरकारले गत असार महिनामा रसुवागढी नाकामा एक कार्यक्रम गरी १४ गाउँपालिकाहरुलाई एक्साभेटर हस्तान्तरण गरेको थियो।

अरु पालिकाहरुले असारमै एक्साभेटर लगिसके पनि चुमनुब्री गाउँपालिकाले भने भन्सार छुटको प्रकिया पुर्याउन नसक्दा ढिला भएको थियो। प्रकिया पूरा गरी तीनदिन अघि मात्र एक्साभेटर लिएर आएको श्रेष्ठले बताउनुभयो। सो एक्साभेटर तिहारपछि मात्र गाउँपालिका लैजाने र सडकलायतका संरचना निर्माणमा प्रयोग गर्ने श्रेष्ठले बताउनुभयो।

Back to top button