सिट बाँडफाँटको टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक आजपनि बस्दै

काठमाडौं । पाँच दलीय गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । सिट बाँडफाँटका लागि हिजो बसेको बैठक पनि निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार ११ बजेदेखि पाँचै दलका शीर्ष नेताहरूबीच बैठक बस्ने तय भएको हो । पटक पटकका बैठकले सिट बाँडफाँटमा ठोस प्रगति गर्न नसकिरहेका बेला आजको बैठकले भने अन्तिम टुंगो लगाउने बताइएको छ ।

सिट बाँडफाँटकै लागि दुई महिनाअघि गठबन्धनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो।

सिट बाँडफाँटको जिम्मेवारी पाएको उक्त समितिले दुई महिना बित्दापनि भागबण्डा मिलाउन नसकेपछि शिर्ष नेताहरुले पनि पटक–पटक छलफल गर्दै आएका छन् । यद्यपी अझै टुङ्गो लाग्न नसकेको हो ।

हिजोको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरुलाई थोरै सिटमा सीमित गर्न लागिएको भए त्यो स्वीकार्य नहुने स्पष्ट अडान राख्दै त्यस्तो अवस्थामा गठबन्धनबाट बाहिरिने चेतावनी दिनुभएको छ ।

यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि थोरै सिट दिन लागिएको भन्दै असन्तुष्टि ब्यक्त गर्नुभएको छ ।

नेताहरुले धेरैजसो जिल्लामा सहमति जुटेपनि केहि जिल्लामा सबैका आफ्ना अडान रहेकाले अल्झिरहेको प्रतिकृया दिएका छन् ।

प्रतिनिधिसभाका सिटमा मात्र नभएर प्रदेश सभाका धेरै सिटमा दलहरुबीच सहमति जुट्न बाँकी छ। कतिपय ठाउँमा कांग्रेस र माओवादीले दावी छाडेका छैनन् भने कतिपयमा एस र जसपा पनि पछि हटेका छैनन्।

Back to top button