सर्लाहीका दुई पालिकामा बजेट पारित नहुँदा शिक्षकले पाएन्न् तलब

काठमाडौं । बजेट पारित नहुँदा सर्लाहीको हरिपूर्वा नगरपालिका र विष्णु गाउँपालिकाका शिक्षक र कर्मचारीको तलब रोकिएको छ ।

हरिपूर्वा नगरपालिकाका मेयर विनोदकुमार शाहले नगरसभाको बैठक समयमा बस्न नसक्दा बजेट पारित हुन नसकेकोले कर्मचारीलाई तलब दिन समस्या भएको बताउनुभयो ।

भर्खरै नगरसभाको बैठकले बजेट पास गरेकोले अब प्रकृया पुरा गरेर तिहार अगाडि तलब दिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘बहुमत नपुगरे समयमा नगरसभाको बैठक बस्न सकेनौं । बल्ल नगरसभा बसेर बजेट पास गरेका छौं । तिहार अगाडि प्रकृया पुरा गरेर दिन्छौं ।’

यस्तै, विष्णु गाउँपालिकाको पनि अहिलेसम्म गाउँसभा नभएकोले बजेट पास हुन सकेको छैन । जसले गर्दा शिक्षक कर्मचारी तथा वृद्धवृद्धा, एकल महिला, अपाङ्ग लगायतको सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् ।

गाउँपालिका प्रमुख जवाहरलाल यादव भने ४–४ महिनामा तलब तथा सामाजिक सुरक्षा भत्ता दिन ढिलाइ नभएको बताउनुभएको छ ।

‘हामीले विभिन्न कारणले गाउँसभाको बैठक बस्न सकेका छैनौं तर अब दशैं लगत्तै बस्ने तयारी छ’, उहाँले भन्नुभयो, ‘हाम्रो चौमासिक तलब दिन्छौं त्यसैले ढिला भएको छैन । अर्को तिहार तथा छठ विशेष भएकोले समयमा शिक्षक, कर्मचारीले तलब पाउनुका साथै सामाजिक सुरक्षा भत्ता वितरण गरिन्छ ।’

उहाँले दशैं लगत्तै गाउँसभाको बैठक बसेर शिक्षक, कर्मचारीको तलबका साथै सामाजिक सुरक्षा भत्ता तिहार अगाडी दिइसक्ने दाबी गर्नुभयो ।

Back to top button