संखुवासभाको सभाखोलामा दुई बाबुछोरा बेपत्ता

संखुवासभा । खाँदबारी नगरपालिका–९ तुम्लिङटार स्थित सभाखोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा खाँदबारी–७ का ४० वर्षीय तारानाथ काफ्ले र उहाँका छोरा १५ वर्षीय सनम काफ्ले रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारले जानकारी दिनुभयो।

हिजो दिउँसो आफ्नै गाडी लिएर सभाखोला जानुभएका उहाँहरू घर नफर्किए पछि मंगलबार बिहान आफन्तले प्रहरीलाई खबर गरेका थिए।

बेपत्ता बाबु छोराको खोजीकार्य भइरहेको प्रहरी डिएसपी गोदारले बताउनुभयो। डिएसपी गोदारका अनुसार सभाखोला किनारमा प्रदेश १–०२–००२ च ५९२० नम्बरको बोलेरो जिप, कपडा, जुत्ता, मोबाइल, साबुन लगायत सामग्री भेटिएको छ।

बेपत्ताहरूको खोजी कार्यमा दुई जना प्रहरी निरिक्षकको कमाण्डमा विभिन्न स्थानमा प्रहरी टोली बिहान देखिनै खोजी कार्य तिव्र पारिएको डिएसपी गोदारले बताउनुभयो। बेपत्ता काफ्ले अरुण तेस्रो आयोजनामा सवारी चालकको रुपमा कार्यरत हुनुहुन्थ्यो।

Back to top button