एएफसी यू–१७ एसियन कप छनोट अन्तर्गत आज पहिलो खेल नेपालले थाइल्याण्डसँग खेल्दै

काठमाडौं । भियतनाममा आजदेखि सुरु हुन लागेको एएफसी यू–१७ एसियन कप छनोट अन्तर्गत समूह एफको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग खेल्दैछ ।

भियतनामको राष्ट्रिय रंगशालामा नेपाल र थाइल्याण्डबीचको खेल दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ । खेलअघिको पत्रकार सम्मेलनमा हिजो यू–१७ एसियन कप छनोटको प्रमुख लक्ष्यसहित भियतनाम पुग्नुभएका नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले समूहमा सहभागी सबै टोली समान स्तरका भएको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ,‘यो समूहका सबै टिमको स्तर उस्तै छ जस्तो लाग्छ । हामी सबै विपक्षी टिमलाई सम्मान गर्छौं । कुनै पनि खेल सजिलो हुनेछैन । यद्यपि हाम्रो लक्ष्य अधिकतम अंक बटुलेर छनोट हुने हो । थाइल्यान्डसँगको पहिलो खेलमा हाम्रो लक्ष्य जित नै हुनेछ ।’

नेपाली टिमका कप्तान प्रशान्त लक्समले आफूहरु कठोर मिहिनेतपछि भियतनाम आएको बताउनुभएको छ । उहाँले सबै खेलमा शतप्रतिशत मेहनत गर्दै संयमता अपनाइने बताउनुभएको छ ।

थाइल्यान्डका मुख्य प्रशिक्षक पिपोब अनमोलले पनि समूहका सबै टिम बलिया रहेको भएको र उनीहरुको सामना गर्न आफूहरु पूर्णरुपमा तयार रहेको बताउनुभएको छ ।

समूह एफमा नेपाल र थाइल्याण्डसँगै चाइनिज ताइपेइ र घरेलु टोली भियतनाम छन् । समूहको शीर्ष स्थानमा रहने टिम फाइनल प्रतियोगिताका लागि छनोट हुनेछ । १० समूहमध्ये उत्कृष्ट ६ उपविजेता पनि छनोट हुनेछ ।

Back to top button