गायक प्रमोद पाण्डेको निधन

काठमाडौं । मस्तिष्क क्यान्सरबाट पीडित वरिष्ठ गायक प्रमोद पाण्डेको निधन भएको छ । पाण्डेको हिजो ५९ वर्षको उमेरमा काठमाडौंस्थित निवासमा निधन भएको हो ।

२०३९ सालदेखि रेडियो नेपालमा गाउन सुरु गर्नुभएका पाण्डेले थुप्रै आधुनिक, भजन र लोकगीत गाउनुभएको छ ।

यस्तै, २०४२ सालमा रेडियो नेपालमा रेकर्ड भएको उहाँले गाएको ‘जिन्दगीले कहाँ ल्याइपुर्यायो,’ बोलको गीत चर्चित थियो । कुन्ति मोक्तानसँग गाएको ‘आँखामै राखेर’ बोलको गीत र उहाँले प्रेम खड्कासँग गाएको ‘डालीमा डाली नाचेर हिंड्ने’ बोलको लोक गीत पनि चर्चित थियो ।

उहाँले मधुमास बोलको एल्बम पनि निकाल्नुभएको थियो । उक्त एल्बममा समावेश अन्जु पन्तसँग गाएको ‘त्यो मनमा फूलेको पिरतीको फूल कसको हो?’ बोलको गीत स्रोताहरुले धेरै रुचाएको गीतमध्येमा पर्दछ ।

चलचित्र निर्देशक दयाराम दाहालको शब्द र संगीतमा उहाँले ‘बिर्सन खोज्छु तिमीलाई’बोलको गीत पनि रेकर्ड गराउनुभएको थियो ।

Back to top button