
काठमाडौं । बलात्कार आरोपमा पक्राउ पर्नुभएका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई जिल्ला सरकारी वकिलको उपस्थितिमा प्रहरीले बयान लिन सुरु गरेको छ।
आजबाट ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएपछि प्रहरीले बयान लिन सुरु गरेको हो।
लामिछानेलाई म्याद थपका लागि प्रहरीले आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो। म्याद थपपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले प्रहरी हिरासतमा रहेका लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गरेको बताउनुभयो।
लामिछानेले जाहेरवालाकै आग्रहमा भेटेको र उहाँ नाबालिग नभएको बताएको घिमिरेले बताउनुभयो।
जाहेरवालाले म १९ वर्षको भएँ भनेर इजलास समक्ष भनेको वकिल घिमिरेले जानकारी दिनुभयो। त्यस्तै इजलासमा लामिछानेले आफ्नो गोपनीयता भंग भएको भन्दै त्यसको कानुनी उपचारबारे चासो राखेको वकिल घिमिरेले जानकारी दिनुभयो। जवाफमा न्यायाधीशले मुद्दाका सुनुवाइका क्रममा यो विषय उठाउन सुझाएको उहाँको भनाई छ।
यस्तै अर्का अभिवक्ता सुधा रिजालले लामिछानेलाई फसाउनकै लागि नाबालिका देखिने गरी जन्मदर्ता बनाएको बताउनुभयो। जाहेरवालाको दुई वटा जन्मदर्ता भेटिएको भन्दै उहाँले अहिलेको जन्मदर्तामा जाहेरवाला नाबालिग नरहेकाले सन्दीपलाई फसाउन खोज्नेले जाहेरवालालाई परिचालन गरेको आशंका गरिएको उहाँको भनाई छ।
पक्राउपछि आरोपितलाई अदालतबाट थुनामा राख्ने अनुमति लिएपछि बयान प्रक्रिया अघि बढाउनुपर्नेमा दसैं बिदा परेकाले अदालत पनि बन्द भएकाले आज मात्र अदालतमा उपस्थित गराइएको थियो। लामिछानेलाई गत बिहीबार प्रहरीले पक्राउ गरेको थियो। लामिछानेमाथि गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ।