
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको दोस्रो कारोबार दिन आज बजार परिसूचक नेप्से २७ दशमलव २६ अंक (१ दशमलव ४३ प्रतिशत) ले गिरावट भएर १८७१ दशमलव २२ अंकमा बन्द भएको छ ।
दशैंपछिको पहिलो कारोबार दिन हिजो ४४ अंकको वृद्धि भएको नेप्से आज नै पुनः गिरावट भएको हो ।
नेप्सेसँगै म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ । यता कारोबार रकम भने बढेर करिब १ अर्ब नजिक पुगेको छ । हिजो करिब ८४ करोडको कारोबार भएको बजारमा आज ३१ लाख ५५ हजार ६ सय ९५ कित्ता सेयर किनबेच हुँदा ९७ करोड १७ लाख ६८ हजारको कारोबार भएको छ ।
जसमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक १६ करोड ५८ लाख ७६ हजारको कारोबार हुँदा नेपाल इन्स्योरेन्सको संस्थापक सेयर ६ करोड ६ लाख १२ हजार ५०० रुपैयाँ र नबिल बैंकको ४ करोड ४२ लाख २० हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
आज नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १६४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै १९ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा २ कम्पनीको स्थिर छ ।
आज कारोबार भएकामध्ये अभियान लघुवित्तको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा एनएमबी हाइब्रिड फण्ड १ को इकाइ मूल्य ३ दशमलव ६७ प्रतिशत र ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइ मूल्य ३ दशमलव ४९ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै, यता गरिमा डिवेञ्चर २०८५ को मूल्य सर्वाधिक ८ दशमलव १३ प्रतिशतले गिरावट हुँदा सिभिल लघुवित्तको सेयर मूल्य ६ दशमलव ३३ प्रतिशत र कृषि विकास बैंक ऋणपत्र २०८३ को मुल्य ५ दशमलव ८६ प्रतिशतले गिरावट भएको छ ।