देउवाको क्षेत्रमा प्रतिनिधिसभातर्फ ११ जनाको उम्मेदवारी

काठमाडौं । आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि डडेल्धुरामा तीन पदका लागि २५ जनाले उमेदवारी दर्ता गरेका छन्।

प्रतिनिधिसभामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ११ जनाले उमेदवारी दर्ता गरेका छन्। प्रदेश क र ख मा क्रमशः ६ र ८ गरि १४ जनाले उमेदवारी दर्ता गरेका हुन्।

प्रधानमन्त्री देउवासँगै प्रतिनिधिसभा सदस्य पदमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट चक्रप्रसाद स्नेही, नेपाली कांग्रेस बीपीबाट कर्णबहादुर मल्ल, एमालेबाट बागी बिक्रम शाही, राप्रपाबाट गोबिन्द खडायत, राप्रपा नेपालबाट कालिप्रसाद जोशी, जनता समाजवादी पार्टीबाट श्याम सिनाल, स्वतन्त्रबाट कर्णसिंह रावल, सागर ढकाल, दानबहादुर पाल र लालबहादुर कठायतले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो।

सत्ता गठबन्धन दलबाट डडेल्धुरामा प्रदेश क्षेत्र (क) मा नेकपा माओवादी केन्द्रका खगराज भट्ट र क्षेत्र (ख) मा नेपाली कांग्रेसका गोविन्दराज बोहराले मनोयन दर्ता गराउनुभएको छ । खगराज भट्ट २०६४ देखि तीनपटक देउवासँग प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धा गरी पराजित हुनुभएको थियो। बोहरा कांग्रेस महासमिति सदस्य हुनुहुन्छ भने सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री समेत हुनुहुन्छ ।

एमालेबाट प्रदेश क्षेत्र (क) मा पठानसिंह बोहरा र क्षेत्र (ख) मा गजेन्द्र शाहीले उम्मेदवारी दर्ता गराउनुभएको छ । बोहरा बाम गठबन्धनको सरकारमा सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार मन्त्री बन्नुभएको थियो। उहाँ २०७४ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार रघुवर भट्टलाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। शाही पूर्व जिल्ला विकास समिति सभापति समेत हो ।

यस्तै सत्ता गठबन्धन दलबाट प्रदेश क्षेत्र (ख) मा टिकट नपाए पछि एकिकृत समाजवादी पार्टीका नेता डा. तारा जोशीले बागी उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । समाजवादी पार्टीको केन्द्रीय निर्णयलाई नमान्दै जिल्ला कार्य समितिको सर्व सम्मत निर्णय गरी उम्मेदवारी दर्ता गराएको उहाँले बताउनुभयो।

त्यसैगरी प्रदेश क्षेत्र (क)मा नेपाली कांग्रेस बीपीबाट गणेश प्रसाद जोशी, राप्रपाबाट पदाराज जोशी र दुई जना महेश धामी र धनबहादुर बोहराले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । प्रदेश क्षेत्र (ख)मा राप्रपाबाट खेमराज पनेरु, राप्रपा नेपालबाट जयराज अवस्थी, जसपाबाट नरभान पार्की र स्वतन्त्रबाट तेज बहादुर कठायत, नवराज धिक्तले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

Back to top button