गण्डकीमा राष्ट्रिय खेलकुदको ट्रफी मुख्यमन्त्री पोखरेलद्धारा सार्वजनिक

कास्की । विभिन्न ६ प्रदेश र विभन्न ३ वटा विभागीय समूहको मुख्यालयमा प्रदर्शनपछि नवौं राष्ट्रिय खेलकुदको ट्रफी प्रतियोगिता आयोजनास्थल गण्डकी प्रदेश आइपुगेको छ । गण्डकीमा ट्रफीलाई मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले सार्वजनिक गर्नुभएको छ ।

नवौं राष्ट्रिय खेलकुदका लागि आयोजक राष्ट्रिय खेलकुद परिषद्ले यसै संस्करणदेखि नयाँ ट्रफी ल्याएको हो । सुन र चाँदीजडित ट्रफीको मूल्य १० लाख रुपैयाँ रहेको आयोजक राखेपले जनाएको छ ।

यस्तै ७ प्रदेशमा ‘ट्रफी टुर’ गराउने लक्ष्यसहित ६ वटा प्रदेशमा ट्रफी प्रदर्शन गरिएको थियो । गण्डकीमा भने प्रतियोगिता अवधिभर ट्रफी प्रदर्शनका लागि राखिनेछ । ट्रफी सार्वजनिक गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकीले ट्रफी प्रदर्शन गर्न पाउनु गौरवको विषय रहेको बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले ट्रफी प्रदर्शनमात्रै नभएर गण्डकी त्यसको हकदारसमेत रहेको दाबी गर्नुभयो । ‘यसमा गण्डकीको पनि स्वार्थ रहेकोले ट्रफी गण्डकीमा नै राख्ने गरी उत्कृष्ट प्रदर्शन गर्न म खेलाडीहरुलाई आग्रह गर्दछु,’ उहाँले भन्नुभयो, ‘उहाँहरुले उत्कृष्ट प्रदर्शन गरेर गण्डकीमा राखिदिनुभयो भने यो हामी सबैका लागि सम्मान हुनेछ ।’

मुख्यमन्त्री पोखरेलले ट्रफी सार्वजनिक गरेसँगै पोखरा नगर परिक्रमा गरिएको थियो । पोखरा लेकसाइडस्थित तालबाराही चोकमा पोखरा महानगरका प्रमुख धनराज आचार्यले समापन गर्नुभएको थियो।

सो ट्रफी सार्वजनिक कार्यक्रममा ‘ट्रफी टुर’ कार्यक्रम संयोजक एवं ओलम्पियन दीपक विष्ट, साग पदकधारी एवं कराँतेका प्रशिक्षक दीपक श्रेष्ठ, महिला भलिबलकी राष्ट्रिय टिम कप्तान अरुणा शाही र विश्व अल्ट्रा धाविका मिरा राई सहभागी हुनुहुन्थ्यो ।

गण्डकीमा करिब ४ दशकपछि दोस्रो पटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुनलागेको हो । यसअघि २०४० सालमा पहिलोपटक दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो ।

औपचारिक रुपमा असोज २८ गतेदेखि प्रतियोगिता सुरु हुने भए पनि पुरुष प्रतियोगिता एक महिना अगाडि नै काठमाडौंमा भइसकेको छ । हिजो देखि पोखरामा महिला क्रिकेट सुरु भएको छ । आजबाट ह्यान्डबल र फेन्सिङ सुरु भएको छ ।

Back to top button