नेपालमा लगानी गर्न एनआरएनलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गैर आवासीय नेपाली (एनआरएन)लाई आफ्नो सीप, पुँजी र प्रविधिलाई नेपालको विकासमा लगाउन आह्वान गर्नुभएको छ ।

आज एनआरएन डेको अवसरमा आयोजित कार्यक्रममा देउवाले प्रवासमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको हो ।

उहाँले भन्नुभयो,‘ गैर आवासीय नेपालीहरुले आफूले विदेशमा आयात गरेको आर्जनलाई नेपालका विभिन्न क्षेत्रमा लगानी गर्नुहोस्।’ उहाँले नेपालको विकासमा आ–आफ्नो ठाउँबाट लाग्न अनुरोधसमेत गर्नुभयो।

प्रधानमन्त्री देउवाले विदेशमा रहेका नेपाली राजदूतावाससँग समन्वय गरेर विदेशी लगानीकर्ता खोजेर नेपाल भित्र्याउन समेत आग्रह गर्नुभयो। नेपालमा उत्पादित वस्तुलाई प्राथमिकता दिएर विदेशमा पुर्‍याउनसमेत आग्रह गर्नुभयो। उहाँ गैर आवासीय नेपालीलाई नागरिकता दिन ऐन संशोधन गरेर निकट भविष्यमा नै ल्याइने दाबी गर्नुभयो।

यस्तै, प्रधानमन्त्री देउवाले कोभिडको महामारी लगायत विभिन्न समयमा एनआरएनले नेपालमा सहयोग गरेको भन्दै धन्यवाद समेत दिनुभयो।

Back to top button