
विर्तामोड । डेंगु संक्रमणबाट जिल्ला स्वास्थ्य कार्यालय झापाका अधिकृतसहित २ जनाको मृत्यु भएको छ। डेंगु संक्रमणका कारण भद्रपुर नगरपालिका–७ निवासी ५७ वर्षीय शशिकुमार भट्टराई र विर्तामोड नगरपालिका–३ निवासी ५२ वर्षीया निशा छेत्रीको मृत्यु भएको हो ।
भट्टराई स्वास्थ्य कार्यालय भद्रपुरका सातौँ तहका परिवार नियोजन अधिकृत हो । श्रीमती मित्रा भट्टराईको खुट्टामा चोट लागेपछि उहाँको उपचार गराउन भदौंको पहिलो साता भट्टराई काठमाडौं जानुभएको थियो।
झापा ओहोरदोहोर गरिरहनुभएकी उहाँकी छोरीलाई त्यही बेला डेंगु संक्रमण पुष्टि भयो। काठमाडौंमा पढिरहेकी छोरीलाई डेंगु भएपछि उहाँ फेरि दसैंमा काठमाडौं जानुभयो। काठमाडौंमा नै उहाँलाई डेंगु संक्रमण भयो।
काठमाडौंको हेम्स हस्पिटलमा उपचार गराइरहनुभएका भट्टराईको हिजोे बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयका अधिकृत बालकृष्ण भण्डारीले जानकारी दिनुभयो।
सुगर र मुटुको रोगी भट्टराईलाई डेंगुले संक्रमित बनाएको अधिकृत भण्डारीले बताउनुभयो। भट्टराई कुल वंश प्रतिष्ठान झापाका निवर्तमान उपाध्यक्ष हुनुहुन्थ्यो।
यस्तै बिर्तामोड–३ निवासी छेत्रीको उपचारको क्रममा बिएण्डसी अस्पताल विर्तामोडमा मृत्यु भएको हो। काठमाडौंको सरस्वती क्याम्पस लाइब्रेरी शाखामा कार्यरत छेत्रीलाई डेंगुको लक्षण देखिएको थियो।
काठमाडौंमा डेंगुको लक्षण देखिएको उहाँलाई फूलपातीका दिन झापा ल्याई अस्पताल भर्ना गरिएको थियो। कलेजो र मिर्गौलाले काम गर्न छाडेपछि उहाँको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।