प्रदेश–१ का स्वास्थ्यमन्त्री जयराम यादव बर्खास्त हुने

विराटनगर । प्रदेश–१ का स्वास्थ्यमन्त्री जयराम यादव बर्खास्तीमा पर्ने हुनुभएको छ । नेकपा एमालेसँग गठबन्धन गरेर चुनावी अभियानमा होमिएको जनता समाजवादी पार्टीका मन्त्रीलाई बर्खास्त गर्ने सत्ता गठबन्धनको तयारीसँगै यादवको पद जाने भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारमा रहेका जसपाका ४ मन्त्रीलाई बर्खास्त गर्ने तयारी गर्नुभएको छ । सोबारे सत्ता गठबन्धनको आज बालुवाटारमा बसेको बैठकमा सहमति भइसकेको छ । गठबन्धनमा संघीय र सबै प्रदेशमा हरेका जसपाका मन्त्री बर्खास्त गर्ने सहमति भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीले संघीय मन्त्रीलाई बर्खास्त गरेलगत्तै प्रदेश १ सरकारका मन्त्री यादवलाई पनि बर्खास्त गरिने मुख्यमन्त्री निकट स्रोतले जनाएको छ । मन्त्री यादव २०७८ कार्तिक १६ गते बनेको राजेन्द्रकुमार राई नेतृत्वको सरकारमा सोही दिन सामाजिक विकास मन्त्री नियुक्त हुनुभएको थियो ।

मन्त्री यादवले केन्द्रले गरेको कुरामा आफू जानकार नभएको बताउनुभएको छ । ‘केन्द्रमा कसरी के भइरहेको छ मलाई अहिलेसम्म जानकारी छैन,’ उहाँले भन्नुभयो ।

मन्त्री यादव मोरङ क्षेत्र नम्बर ५ (ख)बाट २०७४ सालको निर्वाचनमा विजयी हुनुभएको थियो । उहाँ आउँदो मंसिर ४ गतेको निर्वाचनका लागि पनि सोही क्षेत्रबाट नेकपा एमालेको समर्थनमा उम्मेद्वार बन्नुभएको छ । मन्त्रिपरिषद् पुनःगठन भएसँगै उहाँ पुनः २०७८ माघ २३ गते स्वास्थ्यमन्त्री बन्नुभएको थियो ।

Back to top button