
विराटनगर । मोरङ क्षेत्र नम्बर १ (ख) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनुभएका डिल्लीराम शर्माले उम्मेदवार मनोनयन फिर्ता लिनुभएको छ ।
शर्माले आज निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिनुभएको हो । उहाँले नेकपा एमालेका उम्मेदवार खड्गबहादुर बस्नेतलाई समर्थन गर्दै उम्मेदवार फिर्ता लिएको बताउनुभएको छ ।
नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य शर्माले पार्टीले टिकट वितरण गर्दा स्थानीयस्तरका कार्यकर्ताको भावनालाई सम्बोधन गर्न नसकेको भन्दै स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । एमालेले यस क्षेत्रमा खड्गबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ ।
उहाँले अब नेकपा एमालेमै रहेर काम गर्ने स्पष्ट पार्नु भएको छ । टिकट वितरणप्रती असन्तुष्टि रहेपनि उम्मेदवार खड्गबहादुर बस्नेत सँग आफ्नो कुनै आग्रह पूर्वाग्रह नरहेको बताउनुभएको छ । शर्माले बस्नेतलाई जिताउनकै उम्मेदवारी फिर्ता लिएको बताउनुभयो ।
टिकट वितरणपछि धेरै नेता कार्यकर्ताले पार्टी छाडेको घोषणा गर्ने, स्वतन्त्र उम्मेदवारी दिनेजस्ता काम गरेको भन्दै एमाले जिल्ला कमिटीले सच्चिन आग्रह गरेको छ । हिजो बसेको पदाधिकारी बैठकले भोलि बेलुका सम्म सच्चिएर आउन आग्रह गरेको एमाले मोरङका उपाध्यक्ष बाबुराम कार्कीले बताउनुभयो ।