प्रदेश–१ का १० मन्त्री चुनावी प्रतिस्पर्धामा होमिदै

विराटनगर । प्रदेश–१ का १० जना मन्त्री आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रतिस्पर्धामा होमिएका छन्।

यस प्रदेशमा १४ जना मन्त्री छन्। ४ जना मन्त्री भने चुनावी मैदानमा आएनन्। मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित १० जना भने सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन्। १० मध्ये १ जनाले प्रतिनिधिसभा तथा ९ जनाले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका हुन्।

नेकपा माओवादी केन्द्रका नेता, सिँचाइ तथा खानेपानी मन्त्री रामकुमार राई खोटाङमा गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बन्नुभएको छ । २०७४ सालमा भोजपुरको ‘क’बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका मुख्यमन्त्री राई पुनः प्रदेशमै दोहोरिने गरी उम्मेदवार बन्नुभएको छ ।

यसअघिको निर्वाचनमा एमाले–माओवादी बाम गठबन्धनबाट उहाँ विजयी हुनुभएको थियो। नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सचिव समेत रहनुभएका राईले अहिले सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिनुभएको छ । प्रतिगमन र अराजकताको बाटो समाएर संघीयता, लोकतन्त्र तथा गणतन्त्र विरोधीलाई परास्त गरी गठबन्धनलाई विजयी गराउन आफू उम्मेदवार बनेको उहाँको जिकिर छ।

यस्तै, माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहनुभएका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले पाँचथरको ‘क’बाट उमेदवारी दिनुभएको छ ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री हिमाल कार्की उदयपुरको क्षेत्र नम्बर १ ‘ख’बाट उम्मेदवार बन्नुभएको छ । कार्की कांग्रेस संसदीय दलको उपनेता भइसक्नुभएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले मोरङको निर्वाचन क्षेत्र नम्बर ६ ‘ख’बाट उम्मेदवारी दिनुभएको छ । उहाँ यसअघि कांग्रेस संसदीय दलको प्रमुख सचेतक हुनुहुन्थ्यो।

यस्तै, वन वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापा मोरङको निर्वाचन क्षेत्र नम्बर ३ ‘क’बाट उमेदवार बन्नुभएको छ । उहाँ यसअघि नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुनुहुन्थ्यो। थापा यसपटक प्रत्यक्षतर्फ उम्मेदवार बनेर चुनावी मैदानमा ओर्लिनुभएको छ ।

प्रदेश–१ को पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बू इलामको क्षेत्र नम्बर १ ‘क’बाट उम्मेदवार बन्नुभएको छ । २०७४ सालमा उहाँ नेकपा एमालेबाट विजयी हुनुभएको थियो । अहिले एकीकृत समाजवादीमा रहनुभएको उहाँले सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिनुभएको हो ।

स्वास्थ्य मन्त्री जयराम यादव मोरङको निर्वाचन क्षेत्र नम्बर ५ ‘ख’ बाट उमेदवार हुनुहुन्छ। उहाँ जसपाका नेता यसपटक एमाले–जसपा गठबन्धनबाट दोस्रो कार्यकालका लागि उम्मेदवार बन्नुभएको हो । कृषिमन्त्री झलकबहादुर मगरले झापाको निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’बाट उम्मेदवारी दिनुभएको छ । २०७४ सालमा उहाँ सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो।

यस्तै, सामाजिक विकासमन्त्री खोटाङका राजन राई, भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री झापाका ओमप्रकाश सरावगी, उद्योग श्रम तथा रोजगार मन्त्री ताप्लेजुङका प्रतापप्रकाश हाङ्गाम र सामाजिक विकास राज्यमन्त्री रहनुभएकी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाम्फे भने यसपटक उम्मेदवार हुनुहुन्न्।

Back to top button