सगरमाथामा धमाधम शव फेला पर्दै

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथामा हिउँ पग्लिन थालेसँगै आरोहीहरुको शव फेला पर्न थालेको छ। जलवायु परिवर्तनका कारण हिमालमा निरन्तर हिउँ पग्लिन थालेसँगै आरोहणको क्रममा ज्यान गुमाएकाहरुको शव बाहिर देखिन थालेको आरोहीहरुले बताएका छन्।

सगरमाथा आरोहण सुरु भएयता तीन सयभन्दा धेरै आरोहीले सगरमाथामा ज्यान गुमाएका छन्। ज्यान गुमाएकामध्ये झण्डै दुई तिहाइको शव सगरमाथामै रहेको जानकारहरु बताउँछन्। बरफ र हिउँमा पुरिएका शव पछिल्लो समय हिउँ पग्लिने क्रम बढेसँगै सतहमा देखिन थालेको कीर्तिमानी आरोही सानु शेर्पाले बताउनुभयो ।

जुनसुकै बेला बिपत्ति आउन सक्ने हिमालमा अरुको शव देख्दा मनमा डर पैदा हुने उहाँको भनाइ छ। झण्डै दुई दशकदेखि हिमाल आरोहण गर्दै आउनुभएका उहाँले पछिल्ला वर्षमा हिउँ पग्लिएसँगै शव देखिन थालेको बताउनुभयो।

चिनियाँ मोहोडातर्फका धेरै शव हटाइएको भए पनि नेपालतर्फ शव हिउँमै छन्। अघिल्लो वर्ष शव नदेखेको ठाउँमा पनि अर्को वर्ष हिउँ पग्लिएर शव देखिने गरेको आरोहीहरु बताउँछन्। यस्ता शव खुम्बु आइसफलदेखि माथि बाल्कोनीसम्म पनि देखिने गरेको बताइएको छ। चौँथो शिविर र आसपासमा धेरै शव रहेका छन्।

खुम्बु हिमनदी चलायमान हुँदा त्यहाँ पनि शव देखिएका छन्। सगरमाथा सरसफाइ अभियान संचालन गरी केही शव आधार शिविरमा ल्याएका आरोही एवम् अभियानकर्मी पीके शेर्पाले महँगो पर्ने भएकैले धेरै शव उतै रोकिएका बताउनुभयो। केही आरोहीहरुले भने हिमालमा ज्यान गएमा शव त्यतै छोड्नु भनेको भन्दै आफन्तले शव ल्याउन अस्वीकार पनि गर्ने गरेका छन्।

यस्तै, नेपाली सेनामार्फत संचालन भएको सरकारको हिमाल सफाइ अभियान अन्तर्गत केही शवको उद्धार भएको छ। तर अझै धेरै शव हिमालमै छन्। सरकारले चाहेमा शव खोज्न र तल झार्न सक्ने जनशक्ति नेपालमा रहेकोले हिमालमा रहेकामध्ये धेरैजसो शवहरु तल ल्याउन सम्भव पनि रहेको आरोहीहरु बताउँछन्।

Back to top button