
धादिङ । धादिङ क्षेत्र नम्बर २ मा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच चुनावी तालमेल गर्ने सहमति भएको छ । उम्मेदवारी मनोनयन फिर्ता लिने दिन आज राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभा २ (२) मा एमालेलाई समर्थन गर्दै आफ्ना उम्मेदवार फिर्ता गरेको हो ।
प्रतिनिधिसभामा राप्रपाका उम्मेदवार पर्शुराम तामाङले उम्मेदवारी फिर्ता गरी नेकपा एमालेका खेम लोहनीलाई समर्थन गर्नुभएको छ । त्यस्तै, प्रदेशतर्फ सोही क्षेत्रको १ नम्बरमा एमालेका धनबहादुर घलेले राप्रपाका डम्बर तामाङलाई समर्थन गरेर उमेदवारी फिर्ता लिनुभएको हो ।
यस्तै, प्रदेश २ तर्फ राप्रपाका मोहन पोखरेलले एमालेका डा.रामकुमार आधिकारीलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिनुभएको छ ।