
काठमाडौं । नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ पर्नुभएका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ।
उहाँमाथि अनुसन्धान चलिरहेको भन्दै प्रहरीले आज पुनः ७ दिन थुनामा राख्न अनुमति मागेपछि काठमाडौं जिल्ला अदालतले ५ दिन अनुमति दिएको हो।
अदालतले यस अगाडि सोमबार थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको थियो। आज म्याद सकिएकाले प्रहरीले म्याद थपका लागि आज पुनः अदालतमा उपस्थित गराएको हो। प्रहरीले असोज ३१ गते फाइल बुझाउने तयारी गरेको छ।
क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज पुग्नुभएका बेला भदौ २१ गते उहाँमाथि बलात्कारको आरोप लागेको थियो। काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै एक किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्। किशोरीको जाहेरीपछि प्रहरीले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
यस्तै, म्याद थपका लागि अदालत पुग्नुभएका सन्दीपले आफूलाई सुनियोजित रुपमा फसाइएको र आफू निर्दोष रहेको दाबी गर्नुभएको छ । उहाँले आफूविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गर्नुभएको थियो। उहाँले जाहेरवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको दाबी गर्नुभएको हो ।