एमालेमै रहेर संघर्ष गर्छु : नेता रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टी नछोड्ने बताउनुभएको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै नेता रावलले आफूले पार्टी नछोड्ने बताउनुभएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले अछाममा टिकट नदिएपछि रावल असन्तुष्ट बन्नुभएको थियो । पार्टीमा भूमिका खेलेका र व्यवस्था तथा कम्युनिस्ट विचारप्रति प्रतिवद्ध उम्मेदवारलाई जिताउनुपर्ने उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो,‘एमालेमा होलिवाइनलाई पनि उम्मेदवार बनाइएको छ। एमालेभित्रै संविधान दिवसलाई कालो दिवस मनाउने पनि देख्छु। जसको विरुद्धमा एमालेका कार्यकर्ताहरूले रगत बगाउनुप‍रेको छ, थियो तिनलाई पनि एमालेले उम्मेदवार बनाएको देख्छु। अनि कसरी एमालेका सबै उम्मेदवारलाई जिताउन भन्छु? भन्नुस् त।’

नेता रावलले आफू सधैं न्यायको पक्षमा लड्ने मान्छे भएको र पार्टी भित्र नै संघर्ष गरी योग्य उम्मेदवारलाई जिताउन लागी पर्ने बताउनुभयो।

उहाँले पार्टी कसैको निजी वा निजी स्वार्थ पूर्ति गर्ने माध्यम नभएको बताउनुभयो। रावलले भन्नुभयो, ‘यो सामुहिक नेतृत्व, भावना तथा मार्क्सवादी दर्शनको आलोकमा नेपालको संविधानद्वारा निर्दिष्ट उद्देश्य हासिल गर्न क्रियाशील रही देश र जनताको हितमा काम गर्नुपर्ने संगठन हो।’

यस्तै घोषित सिद्धान्त र कार्यक्रमको रक्षा नगरी पाटीको रक्षा हुन नसक्ने उहाँको भनाइ छ। रावलले भन्नुभयो, ‘राष्ट्रिय हित र स्वाधीनताको पक्षमा निर्भिकता साथ नउभिइ बाह्य हस्तक्षेप र षडयन्त्रलाई रोक्न सकिन्न। यही मान्यताका साथ म आजको बिन्दुसम्म प्रयासरत छु।

देश र जनताको पक्षमा मैले उठाउँदै आएको झण्डा अविचलित निरन्तर समाति नै रहने छु। देश र जनताको हक–हितविरुद्धका विचार र गतिविधिविरुद्ध संघर्ष जारी रहने छ। यसमा मलाई विश्वास छ, नेपाली जनता र पार्टीका अधिकांश कार्यकर्ता–सदस्यको साथ–सहयोग रहने छ।’

Back to top button