प्रभु साहलाई गठबन्धनको समर्थन

काठमाडौं । नेकपा एमालेको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिनुभएका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार प्रभु साह उठेको रौतहट–३ मा साहलाई समर्थन गर्ने निर्णय भएको छ ।

गठबन्धनको भागबण्डामा रौतहट–३ माओवादी केन्द्रको भागमा परेको थियो । सोही अनुसार माओवादी केन्द्रका तर्फबाट रवीन्द्र पटेल उम्मेदवार हुनुहुन्छ । नेता पुनका अनुसार पटेललाई राजनीतिक रुपमा सम्झाएर प्रभु साहलाई समर्थन गर्ने निर्णय भएको हो ।

नेताहरुका अनुसार माओवादी केन्द्रले प्रभु साहलाई माओवादी केन्द्रकै चुनाव चिह्नमा चुनाव लड्नसमेत आग्रह गरेको थियो । जवाफमा साहले आफू स्वतन्त्र नै चुनाव लड्ने बताउनुभएको थियो । तर, भविष्यलाई समेत ख्याल गरेर सहयोग गर्न साहले माओवादी नेतृत्वलाई आग्रह गर्नुभएको थियो ।

साहको आग्रहमा स्वतन्त्र उम्मेदवारी दिएकाहरुको सन्दर्भमा भने सत्तागठबन्धन मौन छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता असोज २३ गते भएको थियो । सोही दिन एमालेको टिकट त्यागेर साहले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । साहकै आग्रहमा रौतहटसहित मधेश प्रदेशमा अन्य नेताहरुले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

प्रभु साह माओवादी पृष्ठभूमिकै नेता हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपा एकता भंग भएपछि साह एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा खुल्नुभएको थियो । नेकपाको निरन्तरता भन्दै एमालेमा रहँदा साहसहित माओवादीका अन्य चार जना नेताले सांसद पदसमेत गुमाउनु परेको थियो ।

यस्तै आफूहरुले ओलीलाई संकटमा साथ दिएको भए पनि त्यस अनुसार व्यवहार नभएको भन्दै साहले एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभएको छ ।

Back to top button