उदयपुरमा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिने तथा प्रस्ताव समर्थकसहितलाई कांग्रेसद्धारा कारबाही

उदयपुर । उदयपुरमा गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने तथा प्रस्ताव समर्थकसहितलाई नेपाली कांग्रेस उदयपुरले पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । कांग्रेस क्षेत्रीय सभापति रामकुमार राईसहित पाँचजना नेता तथा कार्यकर्ता कारबाहीमा परेका हुन् ।

कांग्रेसले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धनविरुद्ध बागी उम्मेदवार बनेका नेता र उहाँका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बन्ने नेता, तिनका प्रस्तावक र समर्थकलाई पाँच वर्ष निष्कासन गरेको जानकारी दिँदै सम्धित जिल्लाबाट तत्काल कारबाही गरी जानकारी गराउन निर्देशन दिनुभएको थियो ।

आसन्न ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन् ।

कांग्रेस उदयपुरका कार्यवाहक सभापति भीमचन्द्र राईले जारी गरेको विज्ञप्तिअनुसार गठबन्धनविरुद्ध बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ (१) (घ) उल्लंघन गरेकोमा धारा ३४ (४) (क) अनुसार कांग्रेसको सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गरिएको जनाउनुभएको छ ।

गठबन्धनविरुद्ध कांग्रेस उदयपुरका क्षेत्रीय सभापति रामकुमार राईले निर्वाचन क्षेत्र–२ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । नेता राईले गठबन्धनका उम्मेदवार जगन्नाथ खतिवडाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएकाले पार्टीबाट पाँच वर्षका लागि निष्कासनमा पर्नुभएको हो ।

उहाँले निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन दिएको समयभित्र उम्मेदवारी फिर्ता नलिएपछि कांग्रेस केन्द्रीय सर्कुलरबमोजिम निष्कासनमा पर्नुभएको हो ।

तत्कालीन कांग्रेस जिल्ला कार्य समिति सचिवसमेत रहनुभएका राई पार्टीले टिकट नदिएपछि २०७४ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा चुनावअघि माओवादीमा प्रवेश गर्नुभएको थियो । तर, दुई वर्ष नबित्दै पुनः कांग्रेसमै फर्काएर उहाँलाई पूर्ववत् जिल्ला सचिवको जिम्मेवारीमा फर्काएपछि पार्टीमै क्रियाशील हुनुहुन्थ्यो।

राईको प्रस्ताव र समर्थकमा पार्टीकै क्रियाशील सदस्यहरू लीलाराज अधिकारी र मिनकुमार दाहाल पनि कारबाहीमा पर्नुभएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (क) मा गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने जयप्रसाद सुवेदी र उहाँका प्रस्तावक भरत कार्कीलाई पनि पाँच वर्षसम्मका लागि पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ ।

Back to top button