मधेश सरकारको मन्त्रिपरिषदबाट कांग्रेसका मन्त्री हटाउने तयारी

जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका मन्त्रीहरुलाई हटाउने तयारी गर्नुभएको छ ।

प्रधानमन्त्री तथा नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका मन्त्रीहरुलाई हटाउन लाग्नुभएको हो ।

कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह हुनुहुन्छ । उनीहरुलाई मुख्यमन्त्री राउतले फोन गरी राजीनामा दिन भनेको स्रोतले जनाएको छ । राजीनामा नदिए आजै उनीहरुलाई पदमुक्त गर्ने तयारी मुख्यमन्त्री राउतको छ ।

हिजो साँझ सत्ता गठबन्धन घटक दलहरु नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका ६ मन्त्री र २ राज्यमन्त्री सबैलाई बर्खास्त गर्ने तयारी गरे पनि त्यसमा जसपाले पुनरविचार गरी कांग्रेसका मात्र मन्त्री हटाउने निष्कर्षमा पुगेको बताइएको छ ।

मुख्यमन्त्री राउतले माओवादी केन्द्र र एकीकृत समाजवादीका मन्त्रीहरुलाई भने राजीनामा दिन भन्नुभएको छैन् । एकीकृत समाजवादीबाट उद्योग, वन तथा पर्यटन मन्त्री रहनुभएका शत्रुधन महतोले आफूहरुलाई मुख्यमन्त्रीले राजीनामा दिन नभनेको बताउनुभयो । कांग्रेसका मन्त्रीहरुलाई राजीनामा दिन र नदिए हटाउने कुरा भने मुख्यमन्त्री राउतले आफूलाई सुनाएको उहाँको भनाइ छ ।

मधेश सरकारमा एकीकृत समाजवादीबाट शत्रुधन महतो वन तथा पर्यटन मन्त्री, प्रमोद यादव कानून, न्याय तथा प्रदेश सभा मामिलामन्त्री र नागेन्द्र राय यादव राज्य मन्त्री हुनुहुन्छ । यसैगरी नेकपा माओवादी केन्द्रबाट गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह र राज्यमन्त्री रुवीकुमारी कर्ण हुनुहुन्छ ।

सत्ता गठबन्धन छाडेर जसपाले नेकपा एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई हिजो बर्खास्त गर्नुभएको थियो।

सोही कारण मधेश प्रदेश सरकारको नेतृत्व गरेको जसपाले पनि कांग्रेसबाट मन्त्री बनेकाहरुलाई हटाउन लागेको हो ।

Back to top button