
जनकपुर । मधेश प्रदेश सरकारका तीन मन्त्री बर्खास्तमा परेका छन्। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका तीन जना मन्त्रीलाई बर्खास्त गर्नुभएको हो ।
कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र प्रसाद सिंह हुनुहुन्छ ।
हिजो साँझ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गर्नुभएको हो ।
उहाँहरूलाई मुख्यमन्त्री राउतले फोन गरी राजीनामा दिन भन्नुभएको थियो। तर राजीनामा नदिएपछि बर्खास्त गरिएको जानकारी दिनुभयो।
हिजो साँझ सत्ता गठबन्धन घटक दलहरू नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका ६ मन्त्री र २ राज्यमन्त्री सबैलाई बर्खास्त गर्ने तयारी गरे पनि त्यसमा जसपाले पुनर्विचार गरी कांग्रेसका मात्र मन्त्री हटाएको हो।
तीन मन्त्री बर्खास्त गरेको पत्र मुख्यमन्त्री राउतले प्रदेश प्रमुख कार्यालयमा पठाउनुभएको छ । ती मन्त्रालयहरूको जिम्मेवारी अब मुख्यमन्त्री राउतले नै सम्हाल्नुहुनेछ ।
सत्ता गठबन्धन छाडेर जसपाले नेकपा एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई हिजो बर्खास्त गर्नुभएको थियो।
तीनै मन्त्रालयको जिम्मेवारी अब मुख्यमन्त्री राउतले नै राख्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ।