
विराटनगर । अपहरण गरी विराटनगर ल्याएर आफ्नै साथीहरूले एक युवाको हत्या गरेका छन्। सिरहाको गोलबजार नगरपालिका–३ का १७ वर्षीय अंशु सदाको हत्या भएको हो।
विराटनगर महानगरपालिका–११ बसपार्कस्थित न्यु अप्सरा गेस्ट हाउसको पहिलो तलामा रहेको कोठामा हिजो दिउँसो सदाको शव फेला परेको थियो। हत्या गरेपछि तन्नामा पोको पारेर शव गेस्ट हाउसको १ नम्बर कोठाभित्र रहेको पलङ (लो–बेड) भित्र हालिदिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिनुभयो।
उहाँका अनुसार नाकबाट रगत बगिरहेको अवस्थामा शव भेटिएको र टाउकोलगायत शरीरका विभिन्न भागमा चोट देखिएको छ। इँटाले हानेर गत बिहीबार राति गेस्ट हाउसको कोठाभित्रै हत्या गरिएको प्रारम्भिक अनुमान रहेको डीएसपी कार्कीले बताउनुभयो।
यस्तै, पारिवारिक स्रोतले प्रहरीलाई दिएको जानकारीअनुसार सदा असोज २३ गते साथीहरूसँँग जाने भनेर घरबाट हिँड्नुभएको थियो। तर नफर्किएपछि आमा ललिताले खोजतलासको माग राखेर इलाका प्रहरी कार्यालय गोलबजारमा बिहीबार जाहेरी दिनुभएको थियो। सिरहा प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमल्सिनाका अनुसार साथीहरूसँग गएको छोरा घर नफर्किएको भन्दै खोजतलासको माग राखेर सदाको आमाले जाहेरी दिनुभएको हो ।
‘अत्यन्तै मिल्ने साथीहरूसँग गएको भनिएकाले जाहेरी पर्दासम्म अपहरणको कुरा यकिन थिएन। परिवारबाट खोजतलासको माग भएपछि मोबाइल ‘ट्र्याक’ गर्ने क्रममा ‘लोकेसन’ विराटनगरमा देखियो,’ उहाँले भन्नुभयो, ‘त्यसपछि खोजतलासका लागि मोरङ प्रहरीसँग समन्वय गरियो। तर हत्या भएको अवस्थामा शव फेला परेको छ।’ सदालाई ३ जना साथीहरूले २४ गते बिहान विराटनगर लिएर आएको खुलेको छ।
त्यस गेस्ट हाउसका एक कर्मचारीले दिएको जानकारी अनुसार असोज २६ गते बुधबार राति ८ बजेतिर कोठा खोज्दै सदासहित ४ जना आएका थिए। उनीहरूले बुधबार र बिहीबारका लागि कोठा बुक गरे। अझै एक साता बस्ने भनेर शुक्रबार बिहान अर्को कोठा पनि बुक गर्न खोजेका थिए। ‘अझै एक साता बस्छौँ। थप एउटा कोठा चाहियो भनेर माग गरेका थिए,’ ती कर्मचारी भन्छन्, ‘त्यसपछि पैसा लिएर आउँँछौं भन्दै बाहिर निस्किएर गए। फर्किएर आएनन्।’
विराटनगर आएपछि भने ४ जनाले २४ र २५ गते हत्या गरिएको गेस्ट हाउसनजिकैको धनकुटे लजमा बसेको पाइएको प्रहरीका एक अनुसन्धान अधिकृतले बताए। उनका अनुसार २६ गतेबाट भने न्यु अप्सरा गेस्ट हाउसको १ नम्बर कोठा बुक गरेर बसेका हुन्। फिरौतीबापत परिवारसँग १ लाख रुपैयाँ माग गरिएपछि भने सदाको अपहरण भएको खुलेको प्रहरीले जनाएको छ।
‘खोजतलासका लागि प्रहरीमा जाहेरी परिसकेको थियो। त्यसपछि भने फिरौती रकम माग गर्दै परिवारलाई फोन गएछ। सुरुमा १ लाख रुपैयाँ माग गरिएछ,’ प्रहरी स्रोतले भन्यो, ‘पारिवारिक अवस्था अति नै कमजोर भएकाले परिवारले त्यो रकम उपलब्ध गराउन सक्ने अवस्था थिएन। ‘बार्गेनिङ’ गर्दै १० हजारमा झरेपछि कुरा मिलेछ। तर परिवारले फिरौतीबापतको पैसा पठाउँदा सदाको हत्या भइसकेको थियो।’ प्रहरीका अनुसार हत्यामा संलग्न र हत्या गरिएका सबै लागूऔषधका प्रयोगकर्ता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
लागूऔषध खरिदका लागि फिरौती माग्न साथीको अपहरण गरेको र समयमा पैसा नपठाएपछि हत्या नै गरिदिएको प्रहरीको अनुमान छ। अपहरण र हत्यासँग जोडिएका अरू पनि कारण हुन सक्ने बताउँदै डीएसपी कार्कीले विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो। शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पतालमा राखिएको छ।
सदाका परिवारले १० हजार रुपैयाँ माछापुच्छरे बैंकमा पठाइदिएको प्रहरी स्रोतले बतायो। तर विराटनगर–९ स्थित बैंकको शाखा कार्यालयमा रकम निकाल्न पुगेका बेला धनुषाको कमला नगरपालिका–६ का बिसु भनिने १९ वर्षीय प्रशान्तकुमार मण्डल र साथमा रहेका मोरङको रतुवामाई नगरपालिका–५ का ३६ वर्षीय मनोज कार्कीलाई पक्राउ गुरिएको प्रहरीले जनाएको छ ।
सदाको हत्या गरिएको गेस्ट हाउसबाट धनुषाको कमला–६ का १९ वर्षीय राकेश ठाकुरलाई पनि प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको नेतृत्वमा खटिएको टोलीले तीनै जनालाई पक्राउ गरेको हो। उनीहरू पक्राउ परेपछि सदाको हत्या भएको खुल्यो। घटनामा संलग्न भएका १ जना फरार रहेको प्रहरीले जनाएको छ।
सदालाई लिएर मण्डल र ठाकुरसँगै विराटनगर आएका तथा हत्यामा संलग्न भएका १ व्यक्ति फरार रहेको र खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये कार्कीको भने घटनामा संलग्नता यकिन भइसकेको छैन। प्रहरीका अनुसार गेस्ट हाउसको अर्को कोठा बुक गरेर उनी बसेका थिए। त्यहीँ चिनजान भएका आधारमा पैसा निकाल्न बैंक जाने भनेपछि मण्डललाई आफ्नो मोटरसाइकलमा राखेर कार्कीले बैंकसम्म पुर्याइदिएको मात्रै खुलेको छ।
प्रारम्भिक अनुसन्धानबाट घटनामा कार्कीको कुनै ‘कनेक्सन’ देखिएको छैन। तर पक्राउ परेका मण्डल र ठाकुर तथा फरार रहेका व्यक्ति भने घटनामा संलन रहेको प्रहरीले जनाएको छ।
यद्यपि पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर विभिन्न कोणबाट घटनाको अनुसन्धान थालिएको डीएसपी कार्कीले बताउनुभयो। घटनाका सम्बन्धमा मोरङ र सिरहाबाट भिन्दाभिन्दै अनुसन्धान हुने भएको छ। मोरङ प्रहरीले कर्तव्य ज्यान मुद्दा र सिरहा प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गर्ने भएको हो।