
विराटनगर । छठ पर्वलाई मध्येनजर गरेर विराटनगर महानगर क्षेत्रको सुनसरी मोरङ सिंचाई आयोजनाको नहरको सफाई गर्न सुरु गरिएको छ ।
सुनसरी–मोरङ सिंचाई आयोजनाको सहकार्यमा महानगरले नहरको सफाई सुरु गरेको हो । महानगर क्षेत्रभित्रका सबै नहर सफा गरिने विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिनुभयो ।
हरेक दिन दुईवटा जेसीवीले नहर सफाई गर्ने महानगरले जनाएको छ । बिहान ६ बजेदेखि नै सफाई सुरु हुने गरिने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताउनुभयो । एउटा जेसीवीले खार्जीदेखि जामुनगाछीसम्म सफा गर्नेछ भने अर्को जेसीवीले जामुनगाछीदेखि रानीसम्म सफा गर्नेछ ।
लामो समयदेखि सफा नभएको नहरलाई छठ पर्वका लागि सफाई गरिएको हो । छठ पर्वमा भक्तजनहरुले जलासय किनारमा मण्डप बनाएर पूजाआरधना गर्ने प्रचलन छ । सुनसरी–मोरङ सिंचाई आयोजनाको नहरले विराटनगरको वडा नम्बर ४, ५, ६, ११, १२, १६ लगायतका वडा समेटेको छ । हरेक शुक्रबार महानगर सफाई विशेष अभियान पनि सञ्चालन भइरहेको छ ।