स्वास्थ्यकर्मीलाई डेंगु रोग नियन्त्रण र रोकथामसम्बन्धी अभिमुखीकरण तालिम

विराटनगर । विराटनगर महानगरपालिकाले डेंगु रोग नियन्त्रण र रोकथामका लागि तयारी सुरु गरेको छ । डेंगुको संक्रमण हरेक दिन बढ्दै गएपछि महानगरले नियन्त्रण र रोकथामका लागि पूर्वतयारी स्वरुप स्वास्थ्यकर्मीलाई अभिमुखिकरण तालिम दिएको छ ।

आज स्वास्थ्यकर्मीहरुका लागि डेंगु रोग सम्बन्धी निगरानी, सम्भावित महामारीको तयारी, रोकथाम तथा नियन्त्रण, खोज र नष्ट गर्ने तरिकाका विषयमा अभिमुखीकरण सञ्चालन गरिएको महानगरपालिकाले जनाएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका को–अर्डिनेटर डाक्टर सुरेन्द्र उरावले डेंगुको लक्षण, बच्ने उपाय, उपचार विधि, नियन्त्रणको तरिकालगायतका विषयमा स्वास्थ्यकर्मीहरुलाई जानकारी गराउनु भएको थियो ।

उहाँले भदौ यता डेंगुको संक्रमण तीव्र गतिमा फैलिँदै गएको भन्दै टायर, जार, नालीलगायतमा डेंगुको संक्रमण सार्ने लामखुट्टे बढी मात्रामा बस्ने भएकाले सफाईमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

घर वरिपरि फोहोर पानी जम्न नदिने, सुत्दा झुल टाँगेर मात्रै सुत्ने, शरीर ढाक्ने लुगा लगाउनेलगायतका विधि अपनाएमा डेंगुको संक्रमणबाट बच्न सकिने उहाँको भनाइ थियो ।

डाक्टर उरावले नेपालमा सबैभन्दा बढी १६ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिहरु संक्रमित भएको उल्लेख गर्नुभयो । पहिलो चरणमा महानगरमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई डेंगु रोग नियन्त्रण र रोकथामका विषयमा अभिमुखीकरण सञ्चालन गरिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो ।

अलीका अनुसार दोस्रो चरणमा भोली नै जनप्रतिनिधि, नागरिक समाजका अगुवासहित सबै क्षेत्रका व्यक्तिसँग डेंगुको नियन्त्रण र रोकथामका विषयमा छलफल गरिनेछ ।

Back to top button