दलकै सही उम्मेदवारलाई मत दिनु उपयुक्त हुन्छ की ?

अहिले देश निर्वाचनमय भएको छ। एकातिर राजनीतिक दल र नेताहरू चुनावी माहोल आ–आफ्नो पक्षमा पार्न दौडधूप गरीरहँदा अर्कातिर स्वतन्त्र उम्मेदवारको पनि चर्चा चुलिँदैछ । गत स्थानीय निकाय निर्वाचनमा देशका दुई चार पालीकामा स्वतन्त्र उम्मेदवारको विजय र ऊनीहरुको कार्यले एक प्रकारको तरङ्ग पैदा भएको अवस्थामा मङ्सिर चारमा हुन गइरहेको सङ्घ र प्रदेशको चुनावमा समेत यसको प्रभाव पर्ने देखिएको छ। वडाध्यक्ष र पालिका प्रमुख आफैं कार्यकारी हुने अथवा मुख्य नेतृत्वकर्ता आँफै हुँदा आफ्नो सोच, नीति र कार्यक्रम लागु गर्न सक्ने अवस्था हुन्छ र केही नविन कार्य गर्न सक्छन् भन्ने दृष्टान्त काठमाडौं महानगर, धरान उपमहानगर र अन्य केही पालिकामा छर्लङ्ग छ। त्यती मात्र हैन स्थानीयमाझ भिझेको, कुनै न कुनै रुपले जोडिएको र चिरपरिचित अनुहार हुने भएकाले आफन्त र छर–छिमेकीको मनोवैज्ञानिक सहयोग अनि समन्वय पनि प्राप्त भएको हुन्छ। तर स्वतन्त्र व्यक्तिका लागि यस्तै अनुकूलता केन्द्रीय र प्रादेशिक चुनावमा हुन्छ भन्नु त्यति सान्दर्भिक नहोला।

हरेक नागरिकले पक्कै राजनीति गर्ने हैन तर राजनीतिक रुपमा सचेत हुनैपर्छ। राजनीतिक दल र नेतालाई तथानाम गाली गर्नुभन्दा पहिले राज्य, शासन प्रणाली र राजनीतिक दलप्रति यथार्थ ज्ञान, चासो र आफ्नो दृष्टिकोण प्रष्ट हुनु र बनाउनु जरुरी छ। देशको मूल कानुन, संविधानले नै लोकतान्त्रिक दलिय शासन व्यवस्था अङ्गीकार गरेको छ। नेपालको संविधान २०७२ को प्रस्तावनामै नेपाल लोकतन्त्रात्मक सङ्घीय गणतन्त्रात्मक राज्य भन्ने उल्लेख गरिएको छ।संविधानले नागरिकका मौलिक हक अधिकारका साथै कर्तव्य पनि प्रष्ट गरेको छ। धारा १७,अ स्वतन्त्रताको हक अन्तर्गत उपधारा २े अनुसार प्रत्येक व्यक्तिलाई सङ्घ, सङ्गठन र राजनीतिक दल खोल्ने अधिकार हुनेछ भन्ने व्यवस्थाले पनि व्यक्ति भन्दा सङ्गठन र पार्टीलाई नै महत्व दिएको छ। यदी यो प्रावधानमा हाम्रो विमति हो र बहुदलीय लोकतन्त्रात्मक सङ्घीय व्यवस्थामै खोट छ भन्ने लाग्छ भने फेरी एउटा फरक आन्दोलन र त्यसका लागि जन उभारको खाँचो छ।

दलगत राजनीतिका राम्रा पक्ष मात्र छैनन् ,नराम्रा पाटाहरू पनि उत्तिकै उजागर भएका छन्। चाकडीतन्त्र, गुटतन्त्र ,फरियावाद, नातावाद, डनवाद, धनवाद, हैकमवाद, दुवो झै मौलाएको भ्रष्टाचार, घुसखोरी, ढिलासुस्ती , लम्पसारवाद, परनिर्भरता, बेथीति र कुशासन नेपाली राजनीतिका चुनौती हुन् । हरेक राजनीतिक दलको शीर्ष नेतृत्व आफ्नै गुणगान र आत्मरतीमा रमाउँदा दलका कार्यकर्तामा मात्र नभएर आम जनमानसमा चरम निराशा पैदा भईरहेको छ। तथापी पार्टीका सिद्धान्त र नीति तथा कार्यक्रम गलत छैनन्, सही दिशा निर्देश वा कार्यान्वयन हुन नसकेको मात्र हो भन्ने बुझाई पनि जिवितै छ।

एक सचेत नागरिक भएको हैसियतले स्वतन्त्र उम्मेदवारहरुको सम्मान गर्नुपर्छ र शुभकामना दिन पनि हिचकिचाहट राख्नु हुन्न तर हालको बहुदलीय शासन व्यवस्थामा स्वतन्त्र उम्मेदवारको पक्षमा भन्दा राजनीतिक दलकै उम्मेदवारको पक्षमा उभिनु जायज हुनेछ।
किनकीः–
१. विकसित र औद्योगिक राष्ट्रहरुले समेत व्यक्तिगत विचारलाई हैन दलको नीति र सिद्धान्तलाई अङ्गीकार गरेको पाइन्छ ।
२. संसदमा स्वतन्त्र सांसदको आवाज प्राय प्रभावहिन हुन्छ भन्ने देखिसकिएको छ।
३. जितिसकेपछि पदिय लालचमा परेर ठुलो दलमा समाहित हुने वा मोलमोलाईमा फस्ने सम्भावना बढी हुन्छ।
४. केवल तलब, भत्ता र भ्रमणमै पाँच वर्ष खेर जान सक्छ ।
५. कतिपय अवस्थामा स्वतन्त्र सांसद मरुभूमिमा हराएको यात्री झै हुन्छ ।
६. प्रष्ट भीजन भएको स्वतन्त्र उम्मेदवारले जितेपनि बहुमतिय प्रणालीमा आफ्नो नीति र कार्यक्रम लागू गर्न सक्दैन।
७. १६५ स्थानमा ९०० भन्दा बढी स्वतन्त्र उम्मेदवारीले पनि स्वतन्त्र उम्मेदवारको बीचमा सुझबुझ र सामञ्जस्यताको कमीलाई झल्काउँछ ।
तसर्थ अहिलेको शासन व्यवस्थामा राजनीतिक दलकै सही उम्मेदवारलाई मत दिनु उपयुक्त हुन्छ की ? यद्यपि स्वतन्त्र उम्मेदवारप्रति सम्मान र शुभेच्छा छँदैछ।

दीपेश बास्तोला
विराटनगर–५

Back to top button