सत्यमोहन जोशीले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैँ सम्झिरहनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । आज फेसबुकमार्फत उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको जोशीको योगदान राज्यले सधैँ सम्झिरहने उल्लेख गर्नुभएको छ ।

आज बिहान १०३ वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा जोशीको निधन भएको हो।

‘शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबरले निकै दुःखी भएको छु। उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैँ सम्झिरहनेछ। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु’ प्रधानमन्त्री देउवाले भन्नुभएको छ ।

जोशी बाबु शंकरराज जोशी र आमा राजकुमारीका सुपुत्रका रूपमा वि. सं. १९७७ साल वैशाखमा ललितपुरमा जन्मिनुभएको हो । नेपाली भाषा, कला, संस्कृतिको संरक्षणमा लाग्नुभएका उहाँलाई नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको थियो।

उहाँले हाम्रो लोक संस्कृतिका लागि पहिलोपटक वि. सं. २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रोपटक वि. सं. २०१७ सालमा र कर्णाली लोक संस्कृति नामक ग्रन्थको लागि संयुक्त रूपमा तेस्रोपटक वि. सं. २०२८ सालमा मदन पुरस्कार प्राप्त गर्नुभयो।

उहाँले सुप्रबल गोर्खा दक्षिणबाहुलगायत धेरै पुरस्कार र सम्मान समेत पाउनुभएको छ । २०७१ सालमा त्रिमूर्ति निकेतनले उहाँलाई ‘शताब्दी पुरुष’सम्मान दिएको थियो।

Back to top button