
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा गुमाएको बताउनुभएको छ । आज जोशीको निधन भएपछि राष्ट्रपति भण्डारीले मुलुकले एक अथक स्रष्टा एवम् अभिभावक गुमाएकाले पीडाबोध भएको बताउनुभएको हो ।
आज ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको हो। राष्ट्रपति भण्डारीले जोशीको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको अजस्र स्रोत भएको उल्लेख गर्नुभएको छ ।
‘वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ। उहाँको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको अजस्र स्रोत हो ।’ उहाँले भन्नुभएको छ, ‘अमर सत्यमोहनप्रति हार्दिक श्रद्धाञ्जली ।’
जोशी बाबु शंकरराज जोशी र आमा राजकुमारीका सुपुत्रका रूपमा वि. सं. १९७७ साल वैशाखमा ललितपुरमा जन्मिनुभएको हो । नेपाली भाषा, कला, संस्कृतिको संरक्षणमा लाग्नुभएको उहाँलाई नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको थियो।
उहाँले हाम्रो लोक संस्कृतिका लागि पहिलोपटक वि. सं. २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रो पटक वि. सं. २०१७ सालमा र कर्णाली लोक संस्कृति नामक ग्रन्थको लागि संयुक्त रूपमा तेस्रोपटक वि. सं. २०२८ सालमा मदन पुरस्कार प्राप्त गर्नुभएको थियो।
जोशीले सुप्रबल गोर्खा दक्षिणबाहुलगायतका पुरस्कार र सम्मान समेत प्राप्त गर्नुभएको छ । २०७१ सालमा त्रिमूर्ति निकेतनले उहाँलाई ‘शताब्दी पुरुष’सम्मान दिएको थियो।