सत्यमोहन जोशीको शरीर अध्ययनका लागि किष्ट कलेजमा राखिने

काठमाडौं । संस्कृतिविद् एवं वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई नजलाइने भएको छ। उहाँको शरीर किष्ट मेडिकल कलेजमा नै अध्ययनका लागि राखिने किस्ट मेडिकल कलेजका प्राध्यापक डा. सुरज बज्राचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार जोशीको शरीरमा नगल्ने खालको केमिकल प्रयोग गरेर अध्ययनका लागि राखिने छ। सत्यमोहन जोशीले अस्पताललाई रिसर्चका लागि भनेर जिवित हुँदै शरीर दान गर्ने निर्णय गर्नुभएको थियो ।

जोशीको निधन ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा १०३ वर्षको उमेरमा आज बिहान ७ बजेर ९ मिनेटमा भएको हो। उहाँले आफ्नो मृत्युपछि अस्पताललाई शरीर दान गर्ने घोषणा गर्नुभएको थियो। मृत्यु भएपछि खरानी हुनुभन्दा विद्यार्थीलाई अनुसन्धानका लागि सघाउन आफ्नो शरिर दान गर्ने उहाँको निर्णय थियो ।

लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट पीडित जोशीमा कमजोरी देखिएपछि असोज ७ गते इमर्जेन्सीमा भर्ना गरी उपचार सुरू गरिएको थियो।

परीक्षण गर्दा डेंगु संक्रमण, छातीमा निमोनियाको संक्रमणका साथै मुटुको चालसम्बन्धी समस्या देखिएको र अक्सिजन स्याचुरेसन लेभल कम भएर सघन उपचार कक्षमा सिफ्ट गरी उपचार सेवा दिइँदै आएको थियो। केही दिन अगाडिबाट नै जोशीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो। किस्ट अस्पतालले जोशी दम्पत्तिको निःशुल्क उपचार गर्दै आएको छ।

जोशी बाबु शंकरराज जोशी र आमा राजकुमारीका सुपुत्रका रूपमा वि. सं. १९७७ साल वैशाखमा ललितपुरमा जन्मिनुभएको हो । नेपाली भाषा, कला, संस्कृतिको संरक्षणमा लाग्नुभएका उहाँलाई नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको थियो।

उहाँले हाम्रो लोक संस्कृतिका लागि पहिलोपटक वि. सं. २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रोपटक वि. सं. २०१७ सालमा र कर्णाली लोक संस्कृति नामक ग्रन्थको लागि संयुक्त रूपमा तेस्रोपटक वि. सं. २०२८ सालमा मदन पुरस्कार प्राप्त गर्नुभयो।

उहाँले सुप्रबल गोर्खा दक्षिणबाहुलगायत धेरै पुरस्कार र सम्मान समेत पाउनुभएको छ । २०७१ सालमा त्रिमूर्ति निकेतनले उहाँलाई ‘शताब्दी पुरुष’सम्मान दिएको थियो।

Back to top button