नवौं राष्ट्रिय खेलकुदः ४०० मिटर हर्डल्समा आर्मीकी जयरानीलाई स्वर्ण

कास्की। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्सको ४०० मिटर हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्दै स्वर्ण जित्नुभएको छ ।

पोखरा रंगशालामा आज भएको स्पर्धामा जयरानीले निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेण्डमा पूरा गर्नुभएको हो ।

यो स्पर्धामा एपीएफकी भागरती कुमारी थारुले १ मिनेट ०६.०६ सेकेण्डको समयसहित रजत र एपीएफकै कल्पना श्रेष्ठले १ मिनेट ०६.५१ सेकेण्डको समयसहित कांस्य जित्नुभयो ।

गत असारमा काठमाडौंमा भएको ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा जयरानीले १ मिनेट ०७.०२ सेकेण्डको टाइमिङसहित राष्ट्रिय कीर्तिमान बनाउनुभएको थियो। त्यतिबेला उहाँले ८ वर्ष पुरानो सविता चौधरीको कीर्तिमान तोड्नुभएको थियो ।

यस्तै, एथलेटिक्सको दोस्रो दिन आज हर्डल्सको फाइनल प्रतिस्पर्धाको तालिका थिएन । तर १२ जनाले नाम दर्ता गरेकोमा ५ जनाले फिर्ता लिएपछि सिधै फाइनल खेलाइएको हो ।

यसअघि आज नै पुरुष १० हजार मिटर दौडमा आर्मीका दीपक अधिकारीले स्वर्ण जितिसक्नुभएको छ ।

Back to top button