मेचीनगरमा माओवादीका दर्जनौं नेता तथा कार्यकर्ताहरु एमाले प्रवेश

विर्तामोड । नेकपा माओवादी केन्द्रका दर्जनौं नेता तथा कार्यकर्ताहरु आज सामूहिक रुपमा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेको क्षेत्रीय पार्टी कार्यालय काँकडभिट्टामा सम्पन्न एक कार्यक्रममा उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।

आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको संघारमा माओवादीका नगर कमिटी इञ्चार्ज पुष्प गुरागाईंसहित जिल्ला र नगर कमिटीको ठूलो समूह आज नेकपा एमालेमा प्रवेश गरेको हो ।

यसैगरी माओवादी मेचीनगर नगर कमिटिका उपाध्यक्ष उत्तम सिटुङ, जिल्ला कमिटि सदस्य एकराज घिमिरे, जिल्ला कमिटि सदस्य टेकेन्द्र चापागाईं, मेचीनगर कमिटि सचिवालय सदस्य हरि दाहाल, नगर कमिटि सदस्य निखिल पोखरेल, नगर कमिटि सदस्य पदमबहादुर श्रेष्ठ, नगर कमिटिका पूर्व सदस्य पुष्पादेवी मगर, वाइसिएल जिल्ला कमिटि सदस्य रविन मेचे, वाइसिएल मेचीनगर उपाध्यक्ष तथा पार्टीका नगर कमिटि सदस्य निर्मला सुबेदी र मनोज गुरागाईं आज एमालेमा समाहित हुनुभएको हो ।

सो कार्यक्रममा बोल्दै माओवादी केन्द्रको मेचीनगर नगर कमिटी इञ्चार्ज परित्याग गर्नुभएका नेता गुरागाईंले नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाउन नेकपा एमालेमा समाहित हुनु परेको धारणा व्यक्त गर्नुभयो।

Back to top button