
विराटनगर । नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा मोरङ क्षेत्र नम्बर ६ ‘ख’का प्रदेशसभा सदस्यका उम्मेदवार पर्शुराम बस्नेत (कृष्ण)ले आफु सदैव जनताको सेवामा समर्पित हुने बताउनुभएको छ ।
चुनावी अभियानका क्रममा क्षेत्रका जनताको घरदैलोमा पुग्दै आउनुभएका बस्नेतले आज विराटनगर –१२ स्थित बखरीका जनतासँग सदैव जनताको साथमा रहेर अघि बढ्ने बताउनुभएको हो ।
चुनाव अघि हात जोड्दै आउने र जितेपछि हराउने नेताहरुको बानी रहेको भन्दै त्यस्तो हर्कत आफुबाट नहुने बताउनुभयो । उहाँले भन्नुभयो,‘यहि माटोमा खाए खेलेको मान्छे हुँ, मलाई यहाँका जनताले राम्रोसँग चिन्नुभएको छ, म सदैव तपाईहरुको साथमा रहन्छु ।’
यस क्षेत्रको समस्या, यस क्षेत्रका जनताको आवश्यकतालाई आफूले राम्ररी बुझेको भन्दै उहाँले सम्पूर्ण समस्या समाधानका लागि आफु सदैवको जनताको साथ लिएर अघि बढ्ने बताउनुभयो ।
उहाँले विराटनगरको डुवानको समस्या हल गर्न तीनै तहको सरकारसँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।