नवौं राष्ट्रिय खेलकुदः टेवल टेनिसमा पुलिसका बिनेशलाई तीन स्वर्ण

कास्की । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लबका बिनेश खनियाँले टेवल टेनिसको तीन स्पर्धामा स्वर्ण जित्नुभएको छ । पोखरामा जारी प्रतियोगितामा मिक्स्ड डवल, पुरुष डवल र टिम स्पर्धामा बिनेशले पुलिसका लागि स्वर्ण जित्नुभएको हो ।

आज भएको पुरुष डवल्सतर्फ बिनेश र नेपाल नम्बर एक स्यान्टूको जोडीले एपीएफका शिवसुन्दर गोथे र अमरलाल मल्लको जोडीलाइ ३–१ को सेटमा पराजित गरेको थियो। यो स्पर्धामा त्रिभुवन आर्मी र प्रदेश १ ले कांस्य जिते ।

यसअघि हिजो भएको स्पर्धामा पुरुष टिमतर्फ बिनेशसहित स्यान्टू, प्रदीप रोका, विपुल महर्जन र संयोग कपालीको टिमले फाइनलमा एपीएफलाई हराएर स्वर्ण जितेको थियो ।

हिजो नै सम्पन्न मिक्स्ड डवल्सको फाइनलमा पुलिसका बिनेश र एलिना महर्जनको जोडीले फाइनलमा नारायण घिमिरे र स्वेच्छा नेम्वाङको जोडीलाई ३–२ को सेटमा हराएर स्वर्ण जितेको थियो।

यो स्पर्धामा एनआरएनए र गण्डकी प्रदेशले कांस्य जिते ।

बिनेशले आजदेखि सुरु पुरुष एकलको स्पर्धामा पनि सहभागिता जनाउँदैहुनुहुन्छ ।

Back to top button