
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले पार्टी र देश कसैको दम्भ र अहंकारबाट चल्न नसक्ने बताउनुभएको छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दैँ मन्त्री कुँवरले पार्टी र देश कसैको दम्भ र अहंकारबाट चल्न नसक्ने भन्दै पार्टी र देश सहकार्य, शालिनता र एक अर्काको सहअस्तित्व स्वीकारबाट मात्र चल्ने बताउनुभएको हो ।
विज्ञान र प्रविधिको उपयोगबारे अछामका युवाले पनि बुझेकाले त्यो बुझाईलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धनमा मत हालेर प्रटक गर्ने आफूले विश्वास लिएको उहाँले बताउनुभयो ।
सत्ता गठबन्धनबाट अछाम क्षेत्र नम्बर १ का उम्मेदवार कुँवरले कस्ता उम्मेदवारले अछामी जनताको प्रतिनिधित्व गर्न सक्छन भन्ने कुरा जनतालाई थाहा भएकाले अछामी जनताले गठबन्धनलाई मत दिने विश्वास व्यक्त गर्नुभयो ।
भीम रावल राष्ट्रिय नेता तथा अछामी जनताको अभिभावकसमेत रहेको भन्दै एमालेले टिकट नदिएर सही वा गलत गर्यो भन्ने कुरा जनताले फैसला गर्ने उहाँको भनाइ छ ।
कार्यक्रमा अछाम क्षेत्र नम्बर १ प्रदेशसभा क का उम्मेदवार मेघराज खड्काले प्राकृतिक स्रोत र साधनले भरिपूर्ण सुदुरपश्चिम धेरै सम्भावना बोकेको क्षेत्र भएकाले त्यसलाई नमुना र समृद्ध प्रदेश बनाउन भूमिका खेल्ने गरी आफूले सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएको बताउनुभयो ।
मन्त्री कुँवरले आफूले श्रम मन्त्रालय सम्हालेको ४ महिनाको बीचमा श्रमिकको हकहित सुरक्षित गर्ने, श्रम क्षेत्रलाई मर्यादित र व्यवस्थित गर्ने, श्रमिकको उपचारमा लाग्ने खर्चलाई अनलाइन प्रणालीबाट भुक्तानी दिनेलगायत काम गरेको बताउनुभयो ।