नवौं राष्ट्रिय खेलकुदः महिला भलिबलको फाइनलमा सशस्त्र र पुलिस

कास्की । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको फाइनल खेल सशस्त्र प्रहरी र नेपाल पुलिस क्लबबीच हुने भएको छ।

बेनीको खुल्ला मञ्च खेलमैदानमा आज भएको सेमिफाइनलमा सशस्त्रले बागमती र पुलिसले गण्डकी प्रदेशलाई पछि पार्दै फाइनलमा पुगेको हो ।

सशस्त्रले बागमतीलाई १ का विरुद्ध तीन र पुलिसले गण्डकीलाई सोझो तीन सेटमा पराजित गरेको हो। पहिलो सेट २३ का विरुद्ध २५ ले जितेको बागमतीलाई सशस्त्रले त्यसपछिका तीन सेट क्रमशः २५–२३, २५–२२ र २५–१६ को अन्तरमा पराजित गर्‍यो।

सशस्त्रको कप्टानी निरुता ठगुल्ना र बागमतीको टिमको नेतृत्व ललिता नाथले गर्नुभएको थियो। कमला पुनले नेतृत्व गरेको पुलिसले अरुणा शाहीको कप्टानीमा रहेको गण्डकीलाई २५–१०, २५–१८ र २५–११ अंकमा पराजित गर्‍यो। कमला र अरुणा दुवै म्याग्दीको हो ।

तेस्रो स्थानका लागि भोलि बिहान १० बजे बागमती र गण्डकीबीच प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो। यसैगरी सशस्त्र र पुलिसबीच दिउँसो १ बजे अन्तिम फाइनल खेल हुनेछ।

असोज २७ गतेदेखि शुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी थिए। कर्णाली र मधेश प्रदेश पहिलो चरणबाट बाहिरिएका थिए।

यस्तै, विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी, लुम्बिनी, प्रदेश १ र सुदूरपश्चिम प्रदेश क्वाटरफाइनलबाट बाहिरिएका थिए।

Back to top button