जहिल्यै जनताकै बिचमा छु र रहन्छुः ऋषिकेश पोखरेल

विराटनगर । नेकपा एमाले मोरङका अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ऋषिकेश पोखरेल क्षेत्रका जनतासँग चौतर्फी विकासको लागि आवश्यक सुझाव संकलन गर्दै हिड्नुभएको छ ।

अहिले मतदाताका माझमा पुगेर स्थानीय आवश्यकताका विषयमा सुझाव संकलन गर्न ब्यस्त रहनुभएका पोखरेलले झुटा आश्वासन दिने र भ्रम छर्ने काम आफूबाट नहुने बताउनुभएको छ ।

यस अघि संविधानसभा सदस्यमा सोहि क्षेत्रबाट निर्वाचित हुनुभएका पोखरेल केन्द्रीय राजनीतिमा समेत प्रभाव पार्ने प्रभावशाली नेताका रुपमा चिनिनुहुन्छ ।

नेकपा एमालेको मोरङ अध्यक्ष रहँदा गएको स्थानीयतहको निर्वाचनमा जिल्लाका अधिकांश पालिका र वडाहरु जित्न सफल भएपछि उहाँको नेतृत्व गर्ने कुशलताको पनि प्रशंशा गर्ने गरिएको छ । रतुवामाई–५ उल्लुघुटु निवासी पोखरेल स्थानीय समस्यासँगपनि परिचित रहेकाले क्षेत्रमा पनि लोकप्रीय नेताका रुपमा परिचित हुनुहुन्छ ।

आफ्नो समाजको पहुँच जनप्रतिनिधिसँग कायम गराउन, समाजलाई बलियो बनाउन र समाज परिवर्तनका लागि आफ्नो उम्मेदवारी भएको बताउँदै पोखरेलले भन्नुभयो,‘मैले ३ वर्ष संविधानसभा सदस्य बनेर काम गर्दा ३० वर्ष लगातार जितेको पार्टीले गरेभन्दा बढी गरेको सबैलाई थाहा नै छ ।’

लगातार ३० वर्ष अरु दलका उम्मेदवारलाई हेरेका स्थानीय जनतासँग अब आफुलाई पाँच वर्षको लागि अवसर दिएर हेर्न आग्रह समेत गर्नुभएको छ । ‘म मेरो समाज बदल्न चाहन्छु । मेरो समाजमा परिवर्तन ल्याउन चाहन्छु,’ उहाँले भन्नुभयो ‘अब एक पटक पाँच वर्षको लागि जिताई परिक्षा लिन जनतासँग मेरो आग्रह छ ।’

यसअघि चुनावमा पराजित हुनुभएका पोखरेलले सधै जनताकै बिचमा रहेर काम गरेको स्मरण गराउँदै भन्नुभयो,‘चुनाव जितेका नेता कतिपटक आए ? के के गरे ? सबै जनतलाई थाहा छ ।’ सधै तपाईहरुको माझमा को छ भन्ने प्रश्न गर्दै आफु सधै जनताको बिचमा रहेको र सधै जनताकै बिचमा रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पोखरेलको यस पटक कांग्रेस नेतृ सुजाता कोइरालासँग प्रतिष्पर्धा हुँदैछ ।

Back to top button