
कास्की । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपाल आर्मीकी जयरानी थारुले पाँचौं स्वर्ण जित्नुभएको छ ।
उहाँ सम्मिलित आर्मीको टिमले महिला ४ गुणा ४०० रिलेमा स्वर्ण जितेसँगै उहाँको पदक संख्या ५ पुगेको छ । ५ स्पर्धामा भाग लिनुभएकी जयरानीले सबै ५ स्पर्धामै स्वर्ण जित्नुभएको हो । सो मध्ये उहाँले ३ वटा स्पर्धामा राष्ट्रिय कीर्तिमानसमेत बनाउनुभएको छ ।
जयरानीसहित सरस्वती भट्टराई, निर्मला थापा र कसेली चौधरी सम्मिलित आर्मीले ४ मिनेट ०२.७८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेको हो ।
पाँचौं स्वर्ण जित्ने क्रममा जयरानीसहितको आर्मी टिम भाग्यमानी सावित भयो । कारण यो स्पर्धामा एपीएफ पहिलो भए पनि लेन परिवर्तन गरेका कारण अयोग्य घोषित हुँदा आर्मीले स्वर्ण जितेको हो ।
यस्तै, निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारु सम्मिलित लुम्बिनीले ४ मिनेट १४.८० सेकेन्डको समय निकाल्दै रजत पदक जितेको छ ।
सन्तोषी श्रेष्ठ, अञ्जु खड्का, रजिना दुलाल र स्वागत खाइजु, सम्मिलित बागमती प्रदेशले ४ मिनेट २२.७९ सेकेन्डको समय निकाल्दै कांस्य जितेको छ ।