मोरङ क्षेत्र नम्बर- ४: बढ्दैछ चुनावी माहौल, चर्चामा छन् मोदी र ढकाल

विराटनगर । मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी माहौल क्रमशः बढ्दै गएको छ । अहिले चिया पसल, चौतारा र होटलमा बसेर राजनीतिकै गफ हुने गरेको छ ।

जहाँ २, ४ मान्छे भेला हुन्छन्, त्यहि सुरु हुन्छ चुनाव कस्ले जित्छ ? भन्ने बहस । चुनावको माहौल कस्तो छ भन्ने रिपोर्टिङका लागि मोरङ क्षेत्र नं. ४ का ग्रामिण क्षेत्र पुग्दा चुनावी माहौल बढ्दै गएको अनुभूति हुन्छ ।

उम्मेदवार बन्ने नेता को हो ? देखि उम्मेदवारले के कति योगदान गरे भन्ने विषयमा समेत जनता सचेत हुँदै गएका छन् । यति मात्र नभई जितेर जाँदा आफ्नो क्षेत्रको विकास कस्ले गर्न सक्छन् भन्नेमा समेत जनता जानकार छन् ।

सोहि क्षेत्र अन्तर्गत ग्रामथान र कटहरीको विश्लेषण गर्दा प्रतिनिधि सभामा नेकपा एमालेका नेता विनोद ढकाल र सत्तागठबन्धनबाट उम्मेदवार बनेका अमनलाल मोदीबिच नै प्रतिष्पर्धा हुने देखिएको छ । गठबन्धनका नाममा आफ्ना उम्मेदवार नहुँदा कतिपय दलका कार्यकर्तामा निराशा पनि पाइएको छ ।

मोरङको कटहरी ७ का हरिनारायण राजवंशीले आफ्नो पार्टीको उम्मेदवार नभएपछि जस्ले आफ्नो क्षेत्रको विकास गर्न सक्छ उसैलाई भोट हाल्ने बताउनुभयो । कटहरीकै भजनलाल दास मुडियारीले भने यसअघि कांग्रेस, एमाले र माओवादीका नेतालाई पनि जिताएको सम्झिदै भन्नुभयो,‘पार्टी मात्र हेरेर नहुने रैछ, जस्ले काम गर्न सक्छ त्यसैलाई भोट हाल्ने हो ।’

प्रतिनिधिसभामा भने एमालेका ढकालकै चर्चा बढी रहेको समेत बताउनुभयो । यता ग्रामथानका बाबुराम मुडियारीले पनि चुनावी माहौल तात्दै गएको बताउँदै भन्नुभयो,‘चर्चा चाँही ढकाल र मोदीकै छ ।’ ग्रामथान ४ का विनोद ठाकुरलाई नेताबाट ठूलो अपेक्षा छैन, नागरिकता दिलाउन जस्ले भूमिका निर्वाह गर्छ उसैलाई भोट हाल्ने बताउनुभयो ।

श्रीमतीको वंशजको नागरिकता र आफ्नो जन्मसिद्ध नागरिकता रहेको बताउँदै उहाँले छोराको नागरिकता नहुँदा किनेको मोटरसाइकल पनि नाममा पास गर्न नसकेको बताउनुभयो । नेपाली नागरिकलाई नागरिकता दिने विषयमा पनि दलका नेताहरुले राजनीति गरेकोमा दिक्क मान्दै भन्नुभयो,‘जसले नागरिकता सहज दिलाउँछ उसैलाई मत दिने हो ।’

मोतिपुरको चिया पसलमा भेटिएका शिवनारायण माझिले चुनावी माहौल बन्दै गएको बताउनुभयो । उहाँले मोदीलाई जनताले हेरिसकेको भन्दै अब नयाँ अनुहारलाई मौका दिने पक्षमा जनता रहेको बताउनुभयो ।

चुनावको चर्चा भने एजेण्डामा भन्दा उम्मेदवारमा केन्द्रित हुने गरेको पाइएको छ । कटहरीकै तकियामा समूहमा भेटिनुभएका एक जना युवाले नाम नभन्ने शर्त राख्दै यस पटक विनोद ढकालप्रति आशा बढेको बताउनुभयो । उहाँले भन्नुभयो,‘कांग्रेसलाई जिताइयो, अघिल्लो पटक मोदीलाई पनि जिताइयो अहिले भने एमालेका विनोद ढकाल सँग आशा छ ।’

निर्वाचन आयोगको तथ्याङ्क अनुसार १ लाख १० हजार १ सयको हाराहारीमा मतदाता रहेको यस क्षेत्रमा विराटनगर महानगर, कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका र बेलबारी नगरपालिकाका गरि २३ वटा वडा पर्छन् ।

स्थानीय तहको निर्वाचनको परिणाम हेर्दा १८ वटा वडामा नेकपा एमालेले जित्न सफल भएको यस क्षेत्रमा विभिन्न कारणले आफुहरुले चुनाव जित्ने एमालेका उम्मेदवार विनोद ढकालको विश्वास छ ।

भोजपुरबाट मोरङकै कसेनी हुँदै विराटनगरमा बसोबास गर्दै आउनुभएका ढकालले मोरङका सबै क्षेत्रको विषयमा आफु जानकार रहेको अझ क्षेत्र नम्बर ४ लाई नजिकबाट बुझेको बताउँदै आउनुभएको छ ।

उहाँले यस क्षेत्रका जनताले पनि आफूमाथि निकै आशा र भरोसा राखेको भन्दै त्यो भरोसा टुट्न नदिने बताउँदै आउनुभएको छ । अहिलेका जनता सचेत भइसकेको भन्दै जातका कुरा गरेर भोट माग्नेलाई भन्दा सबै जातजाती र भाषा संस्कृतीको सम्मान र सम्वर्धन गर्नेलाई रोज्ने उहाँको विश्वास छ ।

यता माओवादी केन्द्रका अमनलाल मोदी पनि गठबन्धनका सबै दल मिलेर भोट दिँदा आफु सहजै जित्ने विश्वासमा हुनुहुन्छ । अझ आफुले क्षेत्रमा गरेको काम र थारु समुदायको कारण चुनाव जित्नेमा विश्वस्त रहनुभएको उहाँ निकट एक नेताले बताउनुभयो ।

Back to top button