सहकारी प्रमुखमाथि गोली प्रहार गरेको आरोपमा ४ जना पक्राउ

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१, मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनको सेवा केन्द्रका प्रमुख साजन कार्कीमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ३ जना भारतीय तथा १ जना नेपाली नागरिक रहेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीले आज पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा भारतका बिहार राज्य जिल्ला शिवहर थाना छप्रा ग्राम पंचायत तरयानी छप्रा–८ का भुषण सिंहको १९ वर्षीय छोरा रेहान भन्ने आलोक सिंह, जिल्ला बैशाली थाना उद्योगी क्षेत्र ग्राम पंचायत सुलतानपुर–१० का अरबिन्द कुमार यादवको १९ वर्षीय छोरा सौरभ कुमार यादव, जिल्ला मोतिहारी थाना सिगारगंज ग्राम पंचायत हराज–१२ का अरुण सिंहको १९ वर्षीय छोरा गुलसन कुमार सिंह रहेका छन्।

त्यस्तै सर्लाही धनकौल गा.पा.–१ का सोनफी सहनीको ३२ वर्षीय छोरा डिजे भन्ने धिरेन्द्र सहनी रहेका छन्।

३ जना भारतीय नागरिकलाई हिजो मध्यराति बलरा नगपालिका–३ लक्ष्मीपुरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। नेपाली नागरिक धिरेन्द्र सहनीलाई धनकौल गाउँपालिका–१ बाट पक्राउ गरेको छ।

प्रहरी देखेपछि सहनी नहरमा हाम फालेर भाग्न खोजेपछि उनलाई पक्राउ गर्नका लागि प्रहरीलाई गोली समेत चलाउनु परेको थियो।

प्रहरीको गोली सहनीको देब्रे खुट्टाको खुडाँभन्दा तल लागेको छ। गोली खुट्टा लागेर घाइते भएपनि उनी भाग्न अफल भएका थिए। घाइते सहनीको अहिले प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ।

पक्राउ परेकाहरू विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिनुभएको छ ।

हिजो बिहान साँढे १० बजेतिर तीन जनाको समूहमा आएका लुटेराले सेवा केन्द्रको कार्यालयभित्र पसेर प्रमुख कार्कीलाई पैसा दिन भन्दै धम्क्याएपछि कार्कीले प्रतिकार गरेपछि लुटेरा समूहले कार्कीमाथि गोली प्रहार गरेको थियो। गोली कार्कीको तिघ्रा, कुम, ढाड र कोखामा गोली लागेको प्रहरीले जनाएको छ।

गोली प्रहार गरेपछि तीन जना भारतीय नम्बर प्लेटको एउटै मोटरसाइकलमा चढेर दक्षिणतर्फ भागेका थिए। कार्कीको शरीरका विभिन्न तीन ठाउँमा गोली लागेको प्रहरीले जनाएको छ।

लालबन्दी नपा–२, जुटपानी का ३० वर्षीय कार्कीको हरिवनस्थित सरस्वती अस्पतालमा प्राथमिक उपचारपश्चात् हाल ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

Back to top button