
कास्की । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा शंका पैदा हुने काम नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
पाँचदलीय गठबन्धनले आज पोखरामा आयोजना कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले गठबन्धन आजको आवश्यकता भएको बताउनुभयो ।
‘कुनै पार्टीको बहुमत आउन सक्दैन, त्यसैले पार्टीहरू मिल्नुपरेको छ’, उहाँले भन्नुभयो, ‘गठबन्धनका साथीहरूलाई शंका पैदा गर्ने, मतभिन्नता ल्याउने कुनै पनि काम नगरौं ।’
यस्तै गठबन्धनमा सबैको जित भएको र यसलाई कायम राख्दा सबैको पालो आउने उहाँले बताउनुभयो । ‘हाम्राबीचमा सबै पार्टीका साथीहरूले कसैले टिकट पाउनुभएन होला, कतिले पाउनुभयो होला । सबै पार्टीमा त्यस्तै छ, उहाँले भन्नुभयो, सबैको पालो आउँछ । गठबन्धनको सरकार बन्यो भने सयौं ठाउँ हुन्छन् ।’