
निशा दाहाल (रोमा),
विराटनगर । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनितिक दलहरुको सहमतिमा बनाएको आचारसंहिता पालना गराउँदा कोकोहोलो मच्चिएको बताउनुभएको छ ।
आज विराटनगरमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले भन्नुभयो,‘राजनीतिक दलका नेताहरू आफैँले पालना गर्छु भनेर दस्तखत गरेको निर्वाचन आचारसंहिताको पालना गराउँदा कोकोहोलो मच्चिएको छ, ७–८ दिनपछि पछि आयोगले गर्ने निर्णयले भूकम्प जान सक्छ ।’
उहाँले स्पष्टीकरण सोध्दा कारवाहि भन्ने बुझ्न नहुने भन्दै प्रकृयाको आरम्भ मात्रै रहेको बताउनुभयो । प्रमुख आयुक्त थपलियाले स्थानीय तहको निर्वाचनमा अनुभूत गरेका समस्या नदोहोरिने गरी आयोगले आसन्न निर्वाचनको तयारी गरेको स्पष्ट पार्नुभयो ।
राजनीतिक दलहरुकै अनुरोधमा निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन आयोगले आचारसंहिता बनाएको जानकारी गराउँदै आचारसंहिता पालना गर्न सबै पक्षसँग अनुरोध गर्नुभयो । उहाँले निर्वाचनलाई व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउन दुुईवटा नारा अगाडि सारेको बताउनुभयो ।
‘पद, पैसा र पहुँचले निर्वाचन प्रभावित हुनुहुँदैन, निष्ठा विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्छ भन्ने मान्यता स्थापित गरौँ’ र ‘निर्वाचनको स्वच्छताको लागि सामाजिक सञ्जालको व्यवस्थित उपयोग गरौँ ’ भन्ने दुई वटा नारा अघि सारिएको उहाँले बताउनुभयो ।
उहाँले सामािजक सञ्जालबाट हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार, सूचना तोडमोड र द्वेषपूर्ण अभिव्यक्तिलाई नियमन गर्दै निर्वाचनको विश्वसनीयता र निष्पक्षता जोगाउन आयोगले आवश्यक तयारी गरेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाता नामावलीमा नाम भएको बालिग मतदाताले मतदाता परिचयपत्र नभएपनि मतदान गर्न सक्ने व्यवस्था मिलाइने बताउनुभयो । यसका लागि मतदाताले आफ्नो परिचय खुल्ने धनीपूर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्रलगायतका कुनैपनि परिचयपत्र भने बोक्नुपर्ने छ ।
यस्तै उहाँले राजनितिक दलहरुले अपेक्षाकृत महिला उम्मेदवारको नउठाएको र निर्वाचित हुँदा पनि कानुनतः कार्यभार सम्हाल्न नपाउने उम्मेदवार उठाएको प्रति टिप्पणी गर्नुभयो ।
उहाँले सञ्चारकर्मीहरुलाई पनि स्वच्छ र मर्यादित पत्रकारिताको परिचय स्थापित गर्न आम पाठक, दर्शक र श्रोताले थाहा पाउने गरी स्वमूल्यांकन र स्वनियमनको अभ्यास प्रारम्भ गर्न आग्रह गर्नुभयो । आमसञ्चार माध्यमहरूले गर्ने रिर्पोटिङले आचारसंहिताको कार्यान्वयन, पालना तथा निर्वाचन खर्चको नियमन गर्न आयोगलाई महत्वपूर्ण पृष्ठपोषण हुने बताउनुभयो ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले आचारसंहिता विगतको भन्दा गुणात्मक रुपमा परिपालना भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले केन्द्रिय सुरक्षा योजना अनुसार नै मोरङमा सुरक्षा व्यवस्था मिलाइएको बताउनुभयो ।
उहाँले जिल्लामा ७ हजार ५ सय सुरक्षाकर्मी परिचालन हुने, १ सय मोबाईल गस्ति परिचालन हुने बताउनुभयो । यस्तै हरेक मतादन केन्द्रमा ८ देखि १२ जना सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासँघ प्रदेश १ का सल्लाहकार विक्रम लुईटेलले निर्वाचन आचारसंहिता आम जनतालाई बुझाउन आवश्यक रहेकोमा जोड दिनुभयो । यसका लागि आयोगले केन्द्रका सञ्चार माध्यम मात्र नभई स्थानीय सञ्चार माध्यमको उपयोग गर्नुपर्ने सुझाव दिनुभयो ।
उद्घाटन सत्रपछि ‘निर्वाचन र सञ्चारमाध्यम’ विषयमा आयोगका सहसचिव शालिग्राम शर्मा पौडेलले र ‘निर्वाचनमा मिडिया र पत्रकारको भूमिका’ विषयमा राष्ट्रिय समाचार समितका अध्यक्ष धर्मेन्द्र झाले सहजिकरण गर्नुभयो ।